समाचार

भरतपुर महानगरले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई दियो थप ४ करोड रुपैयाँ

भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागी भरतपुर महानगरले थप ४ करोड रुपैया सहयोग गरेको छ ।

महानगर कार्यालयमा आजै मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चेक हस्तान्तरण गरेकी हुन् । महानगर कै पहलमा रंगशाला निर्माण गर्न जग्गाको ब्यबस्था भएको थियो । जनस्तरको सहयोगमा बन्दै गरेको रंगशालामा विभिन्न प्रदेश सरकार , स्थानीय तहले पनि सकेको सहयोग गर्दै आएको छ ।

हालसम्म देशविदेशका सहयोगी मन, सबै संघसस्था र प्रदेश सरकार, स्थानीय तहले गरेको सहयोग सहित ३९ करोड बढी संकलन भएको सिताराम कंटेलले जानकारी दिए ।

फाउन्डेसनले यसरी यस बारेमा जानकारी दिएको छ – ‘जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि भरतपुर महानगरपालिकाको तर्फबाट आ.ब २०७७ / ७८ मा बिनियोजित बजेट मध्य यस अघि ४ करोड रकम अनुदान स्वरुप धुर्मुस सुन्तली फाउण्डेशन लाई प्राप्त भैसकेको छ भने आज मिति २०७७ माघ १४ गते अनुदान स्वरुप थप ४ करोड रुपैयाँ प्राप्त भएको छ । यो रकम सहित अभियान को लागि हाल सम्म सहयोगिमन , विभिन्न संघ सँस्था , प्रदेश सरकार , तथा विभिन्न स्थानीय निकायहरु मार्फत रु. ३१ करोड ४७ लाख ३० हजार ९ सय ७७ रुपैयाँ ८७ पैसा सहयोग स्वरूप प्राप्त भएको छ भने आज मिति २०७७ माघ १४ गते सम्म बिल भर्पाइ पेश भएको आधारमा खर्च तर्फ रु . ३९ करोड ३ लाख ४ सय ९९ .११ पैसा खर्च पेश भैसकेको छ साथै काम सम्पन्न भइ बिल भर्पाइ पेश हुन बाँकी करिब रु . १ करोड ७५ लाख रुपैयाँ गरि एकमुष्ट करिब रु .९ करोड ३३ लाख रकम बजारमा तिर्नुपर्ने रहेको छ ।

अभियानको लागि घोषित रकमहरु पनि पुर्ण तया आउन सकिरहेका छैनन् भने धनधान्यान्चल मुल समारोह समितिको आयोजनामा मिति २०७६ साल माघ १९ गते देखि २७ गते सम्म सम्पन्न भएको धनधान्यान्चल महायज्ञ मा बोलकबोल भएको ६९ करोड रकम मध्य फाउण्डेशन लाई आजको मिति सम्म ८ करोड ८४ लाख ९८ हजार ४ सय ४७ रुपैयाँ मात्र प्राप्त भएको छ । बाँकी रकम यथासक्य उपलब्ध हुन सकेमा परियोजना तोकिएकै समयमा सम्पन्न गर्न सकिनेछ । अत : यो संकटकालिन अवस्थामा घोषणा तथा बोलकबोल गर्नुहुने ब्यक्ति तथा संघ सँस्थाहरु लाई हार्दिकता का साथ अपिल गर्दछौं । साथै हाल सम्म ८ करोड रुपैयाँ बिनियोजन गरि रंगशाला निर्माण अभियानको लागी अनुदान स्वरुप उपलब्ध गराइदिनु भएकोमा भरतपुर महानगरपालिका , महानगरपालिका प्रमुख रेणु दाहाल ज्यु , उप – प्रमुख पार्वती शाह ठकुरी ज्यु र प्रशासकीय अधिकृत प्रेमराज जोशी ज्यु लगायत सिङ्गो भरतपुर महानगरपालिका परिवार प्रति हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।

तपाई पनि यस अभियानमा जोडिन चाहानुहुन्छ भने ०५६५९१९२८ , ०१४४८२९७१ , ९८५११७३०३४ वा info @ dhurmussuntali . org मा सम्पर्क गर्नुहोला ।

´राष्ट्र निर्माण, तपाई हाम्रो अभियान`

Related Articles

Back to top button