समाचार

काठमाडौंको टोखामा टिपरको ठक्करबाट १७ वर्षका किशोरको ज्यान गयो

टोखा नगरपालिका–३ टोखागेट नजिक सडकमा वाग्मती ०२–०२ प २०४२ नम्बरको मोटरसाइकल र बा ४ ख ३१०७ नम्बरको टिपर एक आपसमा ठोकिँदा टोखा –९ गोँगबुका १७ वर्षीय सञ्जित महर्जनको बिहीबार राति मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हुँदा टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

राजधानी लगायत देशका विभिन्न स्थानमा दैनिक टिपरको ठक्करबाट मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।

सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो टिपर चलाउन रोक लगाइएको छ। तर पनि टिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन। ०७५ असारमा गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो टिपर चलाउन नदिन निर्देशन दिएको थियो। गृहको निर्देशनअनुसार अहिले राति ७ बजेदेखि बिहानसम्म ७ बजेसम्म मात्रै रिङरोडभित्र टिपरले प्रवेश पाउँछन्। तर अहिले सो समय परिवर्तन गरिएको छ । बेलुका ९ बजेपछि मात्र काठमाडौं उपत्यकामा टिपर चलाउन पाइन्छ

निर्माण कार्यका लागि उपत्यकाबाहिरबाट रोडा, बालुवा, इँटा र ढुंगा बोकेका टिपर बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म उपत्यका भित्रिने नाकाममै रोकिने गरेका छन्। बेलुका ती टिपर अन्धाधुन्ध गतिमा हुइँकिन्छन्।

नेपाल यातायात व्यवसायी महासंघ मालवाहक सेक्टरका अनुसार काठमाडौं उपत्यकामा दैनिक २ हजार हाराहारीमा टिपर भित्रिने गरेका छन्। धादिङको बेल्खुबाट बालुवा बोकेर आउने थानकोटबाट उपत्यका भित्रिन्छन्। काभ्रेको बनेपा हुँदै रोडा र बालुवा बोकेर आउन टिपर साँगाबाट भित्रिने गरेका छन्।

Related Articles

Back to top button