जन्मदिनमा चर्चित गायिका सम्झना भण्डारीद्वारा मानवसेवा आश्रममा सहयोग
चर्चित लोक दोहोरी गायीका सम्झना भण्डारीले जन्मदिनमा मानवसेवा आश्रमलाई आर्थिक सहयोग गर्नुभएको छ । भण्डारीले आश्रमको दैनिक सेवा कार्यलाई सहज बनाउनका लागि जन्मदिनमा नगद १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । मस्र्याङ्दी गाउँपालिका वडा नं ९ सिंपानी निवासी भण्डारीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति लमजुङ मार्फत आश्रमलाई सहयोग गर्नुभएको हो ।
प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी मार्फत मानवसेवा आश्रमका संयोजक अनिता आधिकारीलाई रकम हस्तान्तरण गरिएको हो । लमजुङमा जन्मिएर काठमान्डौलाई कर्मथलो बनाउँदै आउनुभकी भण्डारीले सामाजिक संजाल मार्फत आश्रमले गर्दै आएको सेवालाई नियाल्ने अवसर पाएको बताउनुभयो ।
आश्रममा आँफै पुग्न नसकेपनि कलाकारहरुको मातृ संस्था लोक दोहोरी प्रतिष्ठान मार्फत थोरै भनेपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । भोलीका दिनमा आश्रमलाई आफ्नो ठाउँबाट आँफुले सक्दो सहयोग गर्ने भण्डारीले बताउनुभएको छ ।
उहाँले छिटैनै आश्रमका गरिमा लक्ष्मिनरायणहरुका लागि मनोरञ्जन प्रदान गर्न साँगितिक कार्यक्रम प्रस्तुत गर्ने योजना समेत रहेको बताउनुभयो ।
जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरेर आश्रमलाई सहयोग गर्नुभएकोमा आश्रमका तर्फबाट संयोजक अनिता अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको छ । आश्रममा हाल ३० जना सडक मानवहरुले आश्रय लिइरहेका छन् ।
भण्डारी ले स्तन क्यान्सर पिडित बेसीशहरका धनसीरी तामाङलाई पनि १५ हजार सहयोग गर्नुभएको छ । लामो समयदेखि स्तन क्यान्सर भएर आर्थिक अभावमा उपचार गराउन नपाइ मृत्यु सँग लडिरहेकी तामाङको उपचारका लागि १५ हजार आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।
त्यसैगरि उहाँले जन्मदिनको अवसरमा काठमान्डौमा वृक्षरोपण समेत गर्नुभएको छ । लमजुङबाट सुरु भएको जन्मदिनमा वृक्षारोपण अभियानलाई ऐक्यवद्धता जनाउँदै भण्डारीले जन्मदिनमा वृक्षारोपण गर्नुभएको हो ।