उदयपुरकी बैअबु राई फेसबुक हेडक्वाटरकाे सिनियर सफ्टवेयर इन्जिनियर
मानिसहरुको दैनिक जीवनको एउटा पद्धति नै बनिसकेको सामाजिक सञ्जाल ‘फेसबुक’को हेडक्वाटर (मुख्यालय)मा एकजना नेपाली चेली ‘सिनियर सफ्टवेयर इन्जिनियर’को रुपमा प्रवेश गरेकी छन् ।
उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षीया बैअबु राई हालै अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको मुख्यालयमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा प्रवेश गरेकी हुन् ।
आमा शान्ता राई र बाबु म्याम्बर राईकी छोरी बैअबुले यसै सातादेखि फेसबुकको हेडक्वाटरमा काम गर्न थालेकी छन् । फेसबुकले सिनियर फ्ट्वेयर इन्जिनियरलाई तलब बापत वार्षिक रुपमा १८३२७२ युएस डलर दिने गर्दछ ।
बैअबु निकै मिहिनेती र भाग्यमानी युवती हुन् ।
उदयपुरस्थित गाईघाटको लालीगुराँस आवासीय विद्यालयबाट शिक्षाको प्रारम्भ गरेकी उनले पूर्ण छात्रवृत्तिमा काठमाडौंस्थित बुढानिलकण्ठ स्कुलबाट प्रवेशिका परीक्षा उतिर्ण गरिन् ।
बुढानिलकण्ठ स्कुलबाट उत्कृष्ट अंक ल्याएकी उनले सोपछि बेलायतको एक प्रतिष्ठित कलेजमा पुनः छात्रवृत्तिमै पढ्न पाइन् ।
त्यसपछि बैअबुले फेरि अमेरिकास्थित म्यासेच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा छात्रवृत्तिमै कम्युटर साइन्सबाट सन् २०१३ मा ग्राजुएटेड भएकी थिइन् ।
आफ्नाे भाञ्जी फेसबुकको हेड्क्वाटरमा नियुक्त भएर काम गर्न थालेकी भन्दै उदयपुरका रकम चाम्लिङले फेसबुकबाटै खुसी व्यक्त गरेका छन् ।
बैअबु फेसबुकको हेड्क्वाटरमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा काम गर्न थालेपछि उनका आमाबाबु, नातागोता र आफन्तहरुमात्र नभएर यो खबर पाउने जोकोही नेपालीहरुले पनि बधाई दिइरहेका छन् ।
पूर्व नेपाली सैनिक म्याम्बर राई र अमेरिकन सहयोग नियोग युएसएडमा कार्यरत आमा शान्ता राई छोरीको प्रगतिले निकै खुसी छन् ।
सन् २०२० को अप्रिलसम्ममा विश्वका २ दशमलव ७ बिलियन भन्दा बढी मानिसहरुले फेसबुक चलाइरहेको एउटा रिपोर्टले देखाएको छ ।
सन् २०२० को जनवरीसम्मको डाटा अनुसार नेपालमा भने कुल जनसंख्याको ३४ दशमलव ४ प्रतिशत अर्थात १ करोड ५ लाख २० हजार जनाले फेसबुक चलाइरहेको देखिन्छ ।