समाचार

साउदीको जेलमा बुटवलका दामोदर, नेपाल फर्कन २५ लाख आवश्यक

दामोदर आफ्नो जन्मभूमि छाडेर साउदी अरबमा गाडी चलाउन पुगेको बाह्र वर्ष भयो । अहिले उनी साउदीस्थित जुवेल जेलमा कैदी जीवन बिताइरहेका छन् । उनी विगत चार वर्षदेखि जेलमा छन् । जेलबाट बहिनी मायालाई फोन गर्छन् र आफू नेपाल नै फर्कन चाहेको सुनाउँछन् ।

‘मसँग कुरा गर्दा दाइ जहिले पनि नेपाल नै फर्कन पाए हुन्थ्यो भनेर रुनुहुन्छ,’’ माया भन्छिन् ।

दाजुलाई नेपाल फर्काउन उनले सक्दो कोसिस गरिरहेकी छिन् । त्यसकै लागि माया बुटवलबाट काठमाडौं आएकी छिन् । ‘‘यसपालि त सरकार र सामाजिक अभियन्ता दुवैले साथ दिन खोजेका छन्, पक्कै दाजु नेपाल झिकाउन सकिन्छ होला कि,’’ उनी आशावादी छिन् ।

दाजुलाई जेलबाट छुटाउनका लागि मायाको काठमाडौंसम्मको यो यात्रा तेस्रो हो । बुटवलमै गार्मेन्ट कारखानामा काम गरेर गुजारा गर्ने मायाको लागि यो सहर बिरानो छ । तर, दाजुको लागि उनी बाटो सोध्दै कहिले सिंहदरबारका मन्त्रालय पुग्छिन् त कहिले वैदेशिक रोजगारी बोर्ड धाउँछिन् ।

यसरी नै उनी दसैंअगाडि पनि काठमाडौं आएकी थिइन् । कोरोना फैलने डरले धेरै देशले कैदीबन्दी रिहा गरे । उनी पनि आफ्नो दाइलाई साउदीको जेलबाट निकाल्न सरकारले सहयोग गर्छ कि भनेर कोरोनाको पर्बाह नगरी आएकी थिइन् ।

तर, सरकारले अरु देशमा कैदी जीवन बिताइरहेका आफ्ना नागरिक ल्याउनेमा चासो देखाएको छैन । विदेशमा अलत्र परेका नेपाली श्रमिकको उद्धारको लागि ७५ करोड रुपैयाँको राहत कोष स्थापना गरेको भए पनि सो रकमबाट डेढ सय नेपालीको मात्र उद्धार भएको छ ।

सरकारले यसपटक भने पहल गर्छ कि भन्दै काठमाडौं आएको उनी बताउँछिन् । यसपटक मायाले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि लामो समयदेखि सक्रिय अभियन्ता सरोज रायलाई पनि भेटिन् । सोमबार अनामनगरमा सरोजलाई भेट्दा मायाको अनुहारमा दाजु फर्काउने आशा पलाएको महसुस गर्न सकिन्थ्यो ।

कसरी जेल परे दामोदर ?
दामोदर नेपालमा हुँदा महेन्द्रनगर–बुटवल रुटमा गाडी चलाउँथे । खाने मुख बढेपछि परिवार धान्न मुस्किल पर्‍यो र विदेश हानिए । साउदीमा पनि उनले गाडीको स्टेरिङ नै समाए ।

‘‘काम त ठिकै छ भन्नुहुन्थ्यो,’’ माया दाइले वर्षौँ पहिले फोनमा कुरा गरेको सम्झँदै भन्छिन्, ‘‘काम ठिकै भए पनि तलब भने बचाउन मुस्किल भएको बताउनुहुन्थ्यो ।’’

नेपालबाट गएको वर्षौँ हुँदा पनि खासै कमाइ नभएपछि उनले आफूले काम गर्दै गरेको कम्पनी छाडेर अर्काे ठाउँमा जाने सोच बनाए । उनलाई साउदीकै एकजनाले आफ्नो कम्पनीमा काम गरे धेरै तलब दिने आश्वासन दिए ।

उनको पासपोर्ट कम्पनीले नै लिएको थियो । नयाँ कम्पनीका सञ्चालकले आफ्नोमा काम गरे नेपाल फर्कने बेलामा आफूले नै पासपोर्ट बनाइदिने बताए । वर्षौँ काम गर्दा पनि राम्रो कमाइ नभएकोले निराश दामोदर उनको कुरामा लोभिए र नयाँ कम्पनीमा काम सुरु गरे ।

यहाँ उनको काम ठिकै चलेको थियो । तर, एकदिन उनले नसोचेको घटना घट्यो । उनले चलाएको गाडीले अर्को गाडीमा ठक्कर दियो । एकजना पाकिस्तानी नागरिकको मृत्यु भयो । दामोदर आफैँ पनि घाइते भए । त्यो दुर्घटनाले दामोदरलाई जेल पुर्‍यायो ।

एउटा कम्पनीबाट भागेर अर्को कम्पनीमा काम गरेका कारण उनी ‘इलिगल’ थिए । प्रायः यस्ता दुर्घटनाको क्षतिपूर्ति कम्पनी आफैँले तिर्ने गर्छ । तर, नेपाल फर्कन आफैँ पासपोर्ट बनाइदिने भनेको कम्पनीले जेल परेपछि वास्तै गरेन । कम्पनीका सञ्चालक दामोदरलाई भेट्न नै आउन छाड्यो ।

त्यो दुर्घटनामा मृत्यु भएको परिवारले उनीसँग क्षतिपूर्ति मागेको छैन । तर, केही महिनापहिले साउदीको अदालतले दुर्घटनामा परेर जलेको गाडीको जरिवानास्वरुप ७९ हजार साउदी रियाल (करिब २५ लाख रुपैयाँ) बुझाउन भनेको छ ।

जरिवाना तिर्न सके दाजुलाई बेलैमा नेपाल फर्काउन सक्ने आशामा माया छिन् । सरोजले दूतावासमा कुरा गर्दा जरिवाना तिरे दामोदरलाई नेपाल फर्काउन सक्ने बताएको छ ।

कमजोर आर्थिक अवस्था
दामोदरका एक छोरा र एक छोरी छन् । उनकी जेठी छोरीको बिहे भइसक्यो । छोरा ११ कक्षामा पढ्दै छन् । श्रीमती बुटवलमा नै ज्याला मजदुरी गर्छिन् ।

‘‘कमाउन गएको दाजु नै जेलमा भएपछि त्यत्रो पैसा कहाँबाट ल्याउने ?’’ जग्गा–जमिन बेचेर दाजुलाई नेपाल फर्काउन त भन्दा पनि आफूहरुसँग जग्गा–जमिनसमेत नभएको माया बताउँछिन् । ‘‘भाउजु र भदा भाइ बस्नको लागि घर नभएर डेराको बास छ,’’ उनले भनिन् ।

हुन त दामोदरका दुइ भाइ छन् । तर, उनीहरुको पनि आर्थिक अवस्था खासै राम्रो छैन । उनको माइलो भाइ वैदेशिक रोजगारीमा नै छन् भने कान्छोले गाडी चलाएर परिवार पालेका छन् । उनीहरुसँग पनि दाजु झिकाउनको लागि त्यति धेरै पैसा जोहो गर्न सक्ने अवस्था छैन ।

दामोदरलाई अदालतले जरिवाना तिरेर स्वदेश फर्कन सक्ने बताएको छ । दूतावासले पनि उनलाई स्वदेश फर्कन सहयोग गर्ने आश्वासन दिएको छ । माया दाजुलाई नेपाल झिकाउन काठमाडौंमा भौँतारिरहेकी छिन् । पैसाबाहेक सबै कुरा मिलिसकेको बताउँदै उनी भन्छिन्, ‘‘बाह्र वर्षमा खोला पनि फर्कन्छ रे, मेरो दाजु कसो नफर्किएलान् !’’

१२खरीमा खवर छ।

Related Articles

Back to top button