बारम्बार बत्ती जान थालेपछि के भन्छन् कुलमान घिसिङ ? खुलाए कारण
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङको नाम देशमा लोडशेडिङ अन्त्य गर्ने पर्यायवाची शब्द बनेको भान हुन्छ। केही महिनाअघि उनी सेवानिवृत्त हुनेबित्तिकै मानिसहरूले अब फेरि लोडशेडिङ हुने हो कि भनेर निकै चिन्ता सार्वजनिक गरेका थिए।अहिले आएर बेलाबेला बत्ती जाने क्रम बढेको अनुभूति भइरहँदा मानिसहरूले फेरि उनकै नाम सम्झिन थालेका छन्। तर के अहिले बत्ती जानु र उनी प्राधिकरणमा नहुनुबीच कुनै साइनो छ? झ्याप्पझ्याप्प बत्ती गइरहेको विषयबारे कुलमान घिसिङको प्रतिक्रिया कस्तो होला त ?
सर्वसाधारण उपभोक्तामा अहिले एउटा शङ्का देखिन्छ – कतै निश्चित स्वार्थ समूहको चलखेलबाट लोडशेडिङ गराएर पुरानै अन्धकार युगमा देशलाई फर्काउने कसरत भइरहेको त हैन? त्यही कसरतअन्तर्गत कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकारणमा निरन्तरता नदिइएको शङ्का गर्नेहरू पनि देखिन्छन्।
तर कुलमान घिसिङको विचारमा अहिले “नियतवश लोडशेडिङ गराउने योजना” ले बत्ती गएको भने हैन। “मैले पनि अनुभूति गरेको छु कि पटकपटक बिजुली गइरहेको छ। तर यसको पछाडि नियतवश लोडशेडिङ गराउने योजना भने होइन,” उनले बीबीसीलाई बताए।
त्यसोभए अहिले किन बत्ती पटकपटक गइरहेको होला त? घिसिङ भन्छन्, “यसका दुई-तीनवटा कारण हुनुपर्छ। एक त समस्याहरू निरन्तर आइरहन्छन् तर तिनको द्रुत गतिमा सम्बोधन भइरहनुपर्छ। अर्को माग र आपूर्तिबीच पनि निरन्तर सन्तुलन मिलाइराख्नुपर्छ।”तर उनले ‘माग धेरै भएकाले तार पग्ल्यो वा के-के भयो’ भन्नेजस्ता समाचारमा सत्यता नभएको बताए। “माग बढेर समस्या आएको होइन। कतै ट्रान्सफर्मर वा कतै लाइनमा केही समस्या आइपरेको छ भने पहिले नै यस्तो होला भनेर द्रुत गतिमा त्यसलाई समाधान गर्नुपर्यो।अनि आपूर्तिमा सन्तुलन छैन भने त्यो पनि गरिहाल्नुपर्यो,” उनको सुझाव छ। “समस्या आयो भने तत्काल त्यसको सम्बोधन गर्न उच्च व्यवस्थापननै लागिपर्नुपर्छ। प्राविधिक समस्या बेलाबेला आइरहन्छन् त्यसैले व्यवस्थापन चनाखो हुनुपर्छ।”