मोरङको पथरी शनिश्चरेमा ज्यान जाने दुर्घटना
विराटनगर / मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा भएको दुर्घटनामा परेर शनिबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सडकमा गुडिरहेको ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको मे ११ प ३४३५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–१० का ५२ वर्षीय सन्तबहादुर आलेमगरको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ९ः५५ बजेतिर मृत्यु भएको थापाले बताए । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार रतुवामाई –५ का ४४ वर्षीय शुक्ल मुर्मु घाइते भएका छन् ।
घाइतेको पथरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर र चालक कानेपोखरी गाउँपालिका–५ का २२ वर्षीय राम तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । मोटरसाइकल चालककै लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।