सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन
काठमाण्डु – नेपाली सेनाले तयारी अवस्थामा रहन सबै पृतनापतिहरुलाई निर्देशन दिएको छ । आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै पृतनापतिहरुलाई भिडियो कन्फरेन्समार्फत पछिल्लो घ`टनाक्रमबाट उत्पन्न हुने परिस्थितिलाई आँकलन गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले पछिल्लो समय विकशित भएका घ`टनाक्रमबारे छलफल भएको जानकारी दिए । प्रवक्ता पौडेलले सबै पृतनाहरुलाई आफ्नो क्षेत्रमा भएका घटनाक्रमबारे जानकारी लिन निर्देशन दिएको जानकारी दिए । ‘पछिल्लो समय विकशित भएका घटनाक्रमबारे छलफल गरिएको हो ।
परिस्थितिको मूल्यांकन गर्ने, आँकलन गर्ने, स्थानीय सरकार र स्थानीयनिकायसँग समन्वयनमा रहन, अरु सुरक्षा निकायहरुसँग पनि सम्पर्क र सूचना आदान प्रदान गरिरहन निर्देशन दिएका छौं’, प्रवक्ता पौडेलले काठमाण्डुपाटीसँग कुरा गर्दै भने । यसअघि सुदुरपश्चिम र पूर्वमा भएको भ्रमणका क्रममा प्रधानसेनापति थापाले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वयन गरेर अगाडि बढ्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै देशमा थप सुरक्षा चुनौतीको आँकलन गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । सरकारको उक्त कदमको विरुद्धमा चौतर्फी प्रर्दशन सुरु गरिएको छ ।