गल्ति गरेर अझै ठूलो कुरो , ओलीले मसँग चुनाव हार्छन : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले पाँचपल्ट चुनाव जितेको भन्दै केपी ओलीसँगै चुनाव लड्न तयार भएको बताएका छन् । पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्ताप्रति आपत्ति जनाउँदै उनीसँगै नै चुनाव लड्न तयार भएको बताए । “म पाँचपल्ट चुनाव जितेको मान्छे हुँ,” उनले भने, “अबको चुनावमा केपी ओलीसँगै लड्न तयार छु ।”
मेरो सरकार ढलाउन यिनीहरुको ३ पुस्ता आए पनि सक्दैनन् : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघि आफ्नो नेतृत्वमा बनेको सरकार पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गिराएको बताएका छन्। बिहीबार दिउँसो आफ्ना पक्षका केन्द्रीय कमिटी सदस्यको बालुवाटारमा भएको बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले पनि उनीहरू नै आफ्नो सरकार हटाउन लागि परेको बताए।
‘सरकारको पक्षमा कहिल्यै बोलेनन्, राष्ट्रको पक्षमा बोलेनन्। भूमिसहितको नक्सा जारी गर्दा सम्बन्ध बिगारेको आरोप लगाइयो,’ ओलीले भने,‘पहिला पनि संविधान बनाएबापत्, नाकाबन्दीको सामना गरेबापत्, एउटा देशसँग मात्रै भएकोमा अर्को देशमा समेत समुन्द्र पुग्ने ढोका खोलेबापत मलाई हटाउन यिनीहरू नै लागेका थिए। अहिले पनि कुनातिर गएर साउती मारेर झुत्तो बनाएर लागेका छन्।’ उनले आफूलाई नेकपाको अध्यक्षबाट हटाउने कुरा तमासा भएको जिकिर गरे।
‘पहिले प्रस्ताव अरे, अहिले त अध्यक्षमाथि स्पष्टिकरण अरे, प्रथम अध्यक्षलाई स्पष्टीकरण अरे, यो कुन तमासा हो?,’ ओलीले भने, ‘अहिले त पार्टीबाटै निकाले अरे भन्ने सुन्दैछु। कसलै लहडमा निकाल्यो अरे। चेस खेल्दा हात्ती उँट घोडा खाएँ भनेजस्तै हो।’ उनले प्रचण्ड-नेपाल समूहलाई अझै पनि सम्हालिएर आउन आग्रह गरे। ‘नत्र कारबाही गर्छौं,’ उनले भने।