खुशिको खबर : नेपालको पहिलो सुरुङमार्ग नागढुंगा– नौबिसे सुरुङमार्ग खन्ने काम सुरु
काठमाडौं -औपचारिक शिलान्यास भएको १४ महिनापछि नेपालको पहिलो सुरुङमार्गको रुपमा बन्न लागेको नागढुंगा– नौबिसे सुरुङमार्ग खन्ने काम सुरु भएको छ।
सुरुङमार्गको अन्य काम पहिल्यै सुरू भएपनि खन्ने काम मंगलबारबाट सुरु भएको आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यले बताए
उनका अुनसार २० मिटरसम्म माटो नै भेटिने भएकाले मेसिनको प्रयोग गरेर सुरुङ खन्न थालिएको छ।
मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउने उद्देश्यका साथ सडक यातायातमै नयाँ मानिएको सुरुङमार्ग निर्माण थालनी गरिएको हो।
सुरुङको लम्बाइ २.६८८ किलोमिटर, चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ। नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ।
यस्तै सडकको लम्बाइ आठ किमि कम हुनेछ। सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ।
४२ महिनामा निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग शिलान्यास गरेका थिए।
शिल्यान्यासको १४ महिना पछि करिब ५ प्रतिशत काम सकिएको आयोजना प्रमुख शाक्यले बताए।
तर, मुआब्जा विवाद, स्थानीयको अवरोध र कोभिड –१९ को असर लगायतका कारण काम अगाडि बढाउन समय लागेको उनको भनाइ छ।
आयोजना निर्माण अपेक्षित गतिमा हुन नसकेको स्वीकार गर्दै उनले कोभिडको असर कम भएसँगै जनजीवन सामान्य तिर फर्केका कारण अव आयोजनाले गति लिने बताए।
सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले लिएको छ। सुरुङमार्ग जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो।
२२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो सुरुङमार्गमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को १६ अर्ब रुपैयाँ ०.०१ प्रतिशत सहुलियत ऋण सहयोग हुनेछ।
यस्तै बाँकी ५ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट लगानी गर्ने गर्ने छ।
nepalijantakhabar