समाचार

‘पद, पैसा र परिवार मात्र सोच्ने प्रचण्डलाई देश सुम्पिन सकिन्न’

काठमाडौं। सरकारको नेतृत्वमा रहेका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतको असन्तुष्ट समूहका नेताहरू देश र जनताको आवस्यकताविपरित कसैको इशारामा चलिरहेको बताएका छन्।

पार्टी केन्द्रीय कमिटिको बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकासका लागि सरकारले गरेका प्रयासहरूमा आफ्नै दलका केही नेता बाधक बनेको आरोप लगाए।

आफूले पार्टीलाई एकजुट बनाउन निरन्तर प्रयास जारी राखे पनि कार्यकारी प्रचण्ड तथा उनले नेतृत्व गरेको वरिष्ठ नेता माधवकुमार नेपालसहितको असन्तुष्ट समूहका नेताहरूले नमानेको प्रधानमन्त्री ओलीको गुनासो थियो।

“मैले अस्तिको दिन प्रचण्डजीलाई भनेँ, हामीले मिलाउन सकेनौं। अब निर्वाचनले मिलाउँछ की ? निर्वाचनमा हामी एकजुट भएर जानुपर्‍यो भनेर भनेँ,” प्रधानमन्त्री ओलीले गुनासो पोख्दै भने, “तर उहाँहरू मान्नुभएन। उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ, कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ, मलाई थाहा छैन। तर उहाँहरू कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन। अहिलेको आवस्यकताअनुसार उहाँहरू चलिरहनुभएको छैन। अहिले देश र जनताको चाहना परिपूर्ति गर्न उहाँहरू चलिरहनुभएको छैन।”

झण्डै दुई तिहाई नजिकको बहुमतका साथ संसदमा प्रतिनिधित्व गर्ने दलभित्रको आन्तरिक विवादका कारण आइतबार मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनाव गर्ने सिफारिस राष्ट्रपतिलाई गरेको थियो। राष्ट्रपतिव्राट मन्त्रिपरिषद्को सिफारिस सदर भएर वैशाखमा मध्यावधी चुनाव हुने पक्का भएपछि नेकपाको असन्तुष्ट पक्ष विरोधमा छ। यसैबीच आज प्रथम अध्यक्ष ओलीले बालुवाटारमा केन्द्रीय कमिटिको बैठक बोलाएका थिए। त्यसको काउन्टर स्वरुप असन्तुष्ट पक्षले पनि असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरूको भेला गरेको थियो।

औपचारिक रूपमा नेकपा अहिलेसम्म एक भए पनि असन्तुष्ट पक्षले प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओलीलाई कारवाही गर्ने र उनको ठाउँमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिसकेको छ।

पार्टी एक भए पनि भावनात्मक रूपमा स्पष्ट दुई चिरा परेको अबस्थामा असन्तुष्ट पक्षको भेलाअघि प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटि बैठकमा दिएको मन्तव्यको सम्पादित अंश उनकै शब्दमा:

हामी नयाँ पार्टी जीवनतर्फ अगाडि बढ्दैछौं । अहिलेसम्म विधिवत् पार्टी एकता विभाजित छैन । हामी पार्टी विभाजन गर्न पनि चाहँदैनौं । निर्वाचन हुँदा पार्टी फुट्छ ? निर्वाचन हुँदा पार्टी फुट्नुपर्छ ? झन् एकजुट भएर बढ्नुपर्दैन ? मैले अस्तिको दिन प्रचण्डजीलाई भने- हामीले केही मिलाउन सकेनौं, अब निर्वाचनले मिलाउँछ कि ? निर्वाचनमा त हामी एकजुट भएर जानुपर्‍यो । हाम्रो शक्ति एकजुट भएर निर्वाचनमा लगाउनुपर्‍यो । आपसी अन्तरविरोधहरु टुङ्ग्याउनुपर्‍यो । अब एकजुट भएर हामी निर्वाचनको काममा अगाडि बढौं । प्रधानमन्त्री बन्नु नै छ भने पनि चुनावबाट बन्ने होला नि त ? प्रधानमन्त्री म चुनावबाट बनेको हुँ । यसले हामीलाई एक ठाउँ पुर्‍याउँछ । अरू पार्टीहरु पनि सकेसम्म एकजुट हुँदैछन् । चुनावका लागि, चुनावको सामना गर्नका लागि ।

उहाँ (प्रचण्ड-माधव)हरू त मान्नुभएन । उहाँहरु बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ ? कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ ? मलाई थाहा छैन । तर उहाँहरु यस धर्तीमा, यस धर्तीको भूमिमा, यस धर्तीको जगमा, कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन । अहिलेको आवश्यकताको जगमा उहाँहरु चलिरहनुभएको छैन । अहिले देश र जनताको चाहना परिपूर्ति गर्न उहाँहरु चलिरहनुभएको छैन ।

तपाईंहरुलाई थाहा छ, ममाथि हमला कतिकति खेर हुन्छ ? मेरो आफ्नै जीवनमा, मेरो आफ्नै अनुभवमा भन्ने हो भने जब देशमा निरङ्कुश राजतन्त्र थियो, पञ्चायती व्यवस्था थियो, अधिनायकवादी शासन थियो, त्यसबेला लोकतान्त्रिक गणतन्त्रका लागि हामीले आन्दोलन सुरु गर्‍यौं, हमला भयो । मैले आफैं व्यक्तिगत तवरमा पनि झेल्नुपरेको छ भन्ने सुनाउनु छ ।

त्यसबेला हामीले आ”’क्रमण सहनुपर्‍यो, मैले जेलमा पनि बस्नुपर्‍यो । अरू साथीहरुले पनि बस्नुपर्‍यो । हामीमाथि हमला कतिबेला भयो भने जतिबेला हामीले जनताका लागि, देशका लागि एउटा निर्णायक आन्दोलनको उद्घोष गरेर अगाडि बढ्यौं, त्यसबेला हमला भयो । त्यसपछिका दिनहरु पनि थुप्रै सम्झन्छु । तर पछिल्लो समयको मात्रै कुरा गरौं ।

म प्रधानमन्त्री भएपछि नाकाबन्दीका विरुद्ध हामीले संविधान जारी गर्‍यौं । संविधान जारी गरेबापत हमला भयो । नाकाबन्दी हामीमाथि लगाइयो । नाकाबन्दीविरुद्ध हामीले डटेर सामना गर्‍यौं । त्यसबेला आलोचना र विरोध हामीविरुद्ध केन्द्रित गरियो । देश बर्बाद भयो, नसक्ने ठाउँमा सिङ जुधाउन गयो । छिमेकीहरुसँग सम्बन्ध बिगार्‍यो…. हामीले सम्बन्ध बिगारेको थिएन । हामीले त नाकाबन्दी भोगिरहेका थियौं र त्यसका विरुद्ध भोको पेटमा सामना गरिरहेका थियौं । तर, पनि हाम्रो राष्ट्रको सम्मान, सार्वभौम सत्ताका लागि लड्दा देशभित्रै आलोचना गर्ने व्यक्ति थिए । हाम्रै पार्टीका शीर्ष नेताहरुले एउटा व्यक्तिको दुर्बुद्धिको कारणले, बोल्न नजानेर देश नै अप्ठ्यारोमा पर्ने स्थिति भयो, अब नेतृत्व फेर्नुपर्छ भनेर सार्वजनिक ढंगले बोलेर अभियान थाल्नुभयो । हामी एउटा देशबाट घेरिएका थियौं । चीनतिरबाट पनि बाटो खोलेपछि त सहिसक्नु नै भएन । तीव्र भयो, हमला । चीनतिरबाट पारवहन र यातायातसम्बन्धी सन्धी भएपछि, चीनतिरका विभिन्न नाकाहरु खोलेपछि, विभिन्न बाटाहरु बनाएपछि, चीनसँग जोड्ने बाटो बनाइयो भनेर हामीमाथि हमला भयो ।

हाम्रा दुर्गम ठाउँहरु चीनसँग सिमाना जोडिएका छन् । त्यो दुर्गम ठाउँमा बाटा नबनाएर हामी देशको विकास कसरी गर्न सक्छौं ? त्यसकारण हामीले चीनसँग सम्बन्ध जोड्नैपर्थ्यो। बाटाहरूले जोड्नैपर्थ्यो, हवाई सुविधाले जोड्नैपर्थ्यो। हिमालपार कनेक्टिभिटी सम्बन्ध, आवागमन, त्यो हवाई, दूरसञ्चार या अरू रेलमार्ग, अरू विभिन्न माध्यमबाट खोलौंं । त्यसो भएपछि हाम्राविरुद्ध यति तीव्र हमला भयो कि त्यो सरकार ढलाइछोड्यो ।

म कमरेडहरूलाई प्रश्न गर्न चाहन्छु- देशका त्यति दृढताका साथ, त्यति स्पष्ट दृष्टिकोणका साथ, केही हुँदैन क्यारे यो देशमा भन्ने ठाउँमा जनताका सपनाहरु, ओइलाएका सपनाहरु जगाएर, विकासको एउटा लहर चलाएर, राष्ट्रिय भावना जगाएर, राष्ट्रिय स्वाभिमानलाई माथि उठाएर, देशलाई एक लय र एक तालमा समृद्धिको बाटो अगाडि बढाउने त्यो सरकार, त्यति उपलब्धिका साथ अगाडि बढेको सरकार गिराउनेमा हाम्रै पार्टीका नेताहरु भएका र अविश्वासको प्रस्तावमाथि बोल्दा अविश्वासकै प्रस्तावको समर्थनमा पो बोले आफ्नै पार्टीका नेताहरुले । त्यो कुरा पनि मलाई सम्झना छ । हाम्रै सांसदहरूको शिर निहुरिएको थियो, त्यतिबेला । त्यो थाहा छ ।

अब, एउटा परिस्थिति अहिले फेरि यहाँ आयो। हाम्रो देशको सम्पूर्ण भू-भाग सामेल गरेर नक्सा छाप्यौं । हामीले अरूको भूभाग सामेल गरेको होइन, हाम्रै भू-भाग सामेल गरेर नक्सा छाप्यौं । त्यो नक्सालाई नक्सा मात्रै छापेर, त्यो कुनै पोस्टर होइन। हामीले छापेको राष्ट्रको सार्वभौम सत्ता र भूगोल हो । त्यो भूगोल नक्साबाट समेत बाहिर पारिएको थियो । सुगौली सन्धिपछि हामीले १४६ वर्षसम्म भोगचलन गरेको जमिन, ५८ वर्ष अगाडि कालापानीमा भारतीय फौज बस्यो र त्यसभन्दा उताको लिपुलेक र लिम्पियाधुरा (बाटामा फौज बसेर ब्लक गरिदिए पछि) उतैको जस्तो गरेर हट्यो ।

त्यसपछि यो संविधान संशोधन गरियो । सर्वसम्मतिले गरियो । संविधान बनाउँदा पनि सर्वसम्मत थिएन । कुनै पनि कुरामा, संविधानको मामलामा राष्ट्रिय सहमति अथवा राष्ट्रिय सर्वसम्मति अहिलेसम्म भएको थिएन । तर संविधानको प्रश्न र राष्ट्रलाई एक ठाउँमा उभ्याऔं । कतिको छातीमा ह्वार्ह्वारी आगो बल्यो । किन बलेको हो, थाहा छैन ।

एउटा समूह पृथकतावादी राजनीति लिएर हिँडिरहेको थियो । त्यस समूहलाई हामीले संविधानसम्मत राजनीतिक संवैधानिक, शान्तिपूर्ण राजनीतिको मूलधारमा, राष्ट्रिय एकताको मूलधारमा ल्याउन सफलता प्राप्त गर्‍यौं । त्यसबेला पनि विरोधको सामना गर्नुपर्‍यो । यो के षड्यन्त्र हो, त्यस्तालाई किन मञ्च दिइयो ? आदि इत्यादि । एउटा पृथकतावादी राजनीतिको अन्त्य गरेर राष्ट्रिय मूलधारको राजनीति अगाडि बढ्दैछ भने त्यसमा मन पोल्नुपर्ने कारण के ? कलेजो जल्नुपर्ने कारण के ? तर, केही मान्छेहरुको मन जल्यो । पृथकतावादको अन्त्य हुँदा रुवाबासी गरे केही मान्छेहरु ।

Related Articles

Back to top button