‘आज म प्रतिज्ञा गर्छु एक रुपैयाँ पनि भ्रष्टाचार भएको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु : मन्त्री बिना मगर
काठमाडौ । खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालय (खानेपानी मन्त्रालय) मा एक रुपैयाँ पनि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने बताएकी छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेकी हुन्।
‘आज म प्रतिज्ञा गर्छु( खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु। देश समृद्ध बनाएरै छाड्छौं,’ मन्त्री मगरले भनेकी छन्।
मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ। कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयले गएको चैतमा निष्कर्ष निकालेको थियो ।
महालेखाले सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न सिफारिस गरेको छ। आयोजना सञ्चालन अवधिमा थप १६ करोड २८ लाख रुपैयाँ अनियमितता भएको पनि महालेखाले औँल्याएको छ।