समाचार

सीमा विवाद समाधानकालागि जुट्यो सहमति, गरियो समिति गठन

मुस्ताङ । म्याग्दी र मुस्ताङ जिल्लाको सीमा विवाद समाधानका लागि सरोकारवालाबीच सहमति जुटेको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरोथाप्लामा शनिबार दुई जिल्लाका सरोकारवालाको बृहत् छलफलमा नापी प्राविधिकको सहयोगमा विवादित ठाउँको सीमा पहिचान गर्ने र उनीहरुले निर्धारण गरेको सिमाना दुवै पक्षलाई मान्य हुने सहमति जुटेको हो ।

म्याग्दी र मुस्ताङस्थित जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलमा दुवै जिससका पदाधिकारी, सिमानामा पर्ने अन्नपूर्ण र थासाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारी र स्थानीय अगुवाको उपस्थिति थियो । मुस्ताङको थासाङ गाउँपालिका–४ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने बादरजुङ र कालीबराह क्षेत्रको भूगोल दुवै जिल्लाका बासिन्दाले दावी गरेपछि विवाद चुलिएको थियो ।

जिसस म्याग्दीका प्रमुख देवेन्द्र केसीले नापी विभागका प्राविधिक ल्याएर सिमाना पहिचान गरी विवाद समाधान गर्न दुई जिल्लाको तीन तीन प्रतिनिधि सदस्य रहेको समिति गठन भएको जानकारी दिए । समितिमा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदी, थासाङका प्रमुख प्रशासकीय अधिकृत सन्तोष क्षेत्री, दानाका वडाध्यक्ष नरसिंह पुर्जा, घाँसाका वडाध्यक्ष विशाल गौचनका साथै म्याग्दी र मुस्ताङका नापी अधिकृत रहेका छन् ।

दाना र घाँसाका वडाध्यक्षले सिमानाका विषयमा प्रस्तुत गरेको दावी, तथ्य, नक्सा र प्रमाण बाझिएपछि नापी विभागको प्राविधिक टोलीको सहयोग लिने निर्णय भएको हो । सीमानामा प्रवेशद्वार निर्माण, वन र जडीबुटी प्रयोग गर्ने क्रममा म्याग्दीको दाना र मुस्ताङको घासाका बासिन्दाबीच सीमा विवादले सामाजिक द्वन्द्व बढाएको थियो । मुस्ताङका जिसस प्रमुख छिरिङ ल्यामो गुरुङले सिमानामा प्रवेशद्वार बनाउन रु ५० लाख विनियोजन गरे पनि विवादका कारण कार्यान्वयन हुन नसकेको बताए ।

थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले प्राविधिक अध्ययन प्रतिवेदनको आधारमा विवाद समाधान गर्न प्रस्ताव गरेका थिए । म्याग्दीका प्रजिअ उमाकान्त अधिकारी र मुस्ताङका प्रजिअ हीरादेवी पौडेलले तथ्य, प्रमाण र छलफलको माध्यमबाट सिमानाको विवाद समाधान गर्न सुझाव दिए ।

यसअघि विसं २०६६ तिर सिमानामा स्वागत बोर्ड राख्न आएका मुस्ताङका बासिन्दा र दानाका स्थानीयबीच झडपको स्थिति आएको थियो । विवाद र झडपको अवस्था आएपछि उनीहरु बोर्ड नराखी फर्किएका थिए । यसैगरी कालीबराहको चरन क्षेत्रको सीमा विवाद सुल्झाउन रघुगङ्गा, थासाङ र अन्नपूर्ण गाउँपालिकाबीच त्रिपक्षीय छलफलको तयारी भएको छ ।

Related Articles

Back to top button