‘मेरो अतितलाई शहर्ष स्विकार गरी मसँग सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु’ : स्वेता
काठमाडौं | नायिका श्वेता खड्का मंसिर २२ गते वैवाहिक जीवनमा बाँधिदैछिन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह विहान ८ बजेदेखि सुरु हुँदैछ ।
श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ मा विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको मृत्यु भयो । दोस्रो पटक विवाह बन्धनमा बाँधिन लागेकी श्वेताले पुरुष प्रधान समाजले आफ्नो निर्णय स्विकार गर्ला त भन्ने चिन्ता व्यक्त गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘म: जीवनको नविन यात्रामा , जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दुःख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जेजस्ता पिर, व्यथा, दुःख अनि कष्टहरुसँग सामना गरेकी छु ।
त्यस भित्रको कहाली लाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केबल मलाई मात्र थाहा छ ।
म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठु–ठुला पत्थर अनि आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ, पत्थरहरुलाई फुटाउनु पर्नेछ अनि आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ ।
‘के म यसो गर्न सकुँला र ?’ आँफैसँग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ‘कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ ।’अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजें ।
अनि जिन्दगीका हरेक समस्याहरुसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ । ‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु ।
‘अब उठ्नै सक्दिन कि’ भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिब हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ ।
मनभित्र गाँठो परेर बसेका अव्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ । तर मैले मेरा बहहरु व्यक्त गर्ने कोसँग ? मैले साथी सँगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुस गर्न सक्ने कोही देखिनँ ।
आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनि अनेकन समस्याहरुसँग एक्लै जुधिरहें ।
मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ?
फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ?
लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे , अनि के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ? म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।
आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसँग सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु ।
म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन ।
अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन।
तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथी सँगतीहरु, अग्रज र दिग्गज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौसला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु।
यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र?’
मलाई थाहा छ, ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुई चारजना व्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ ।
श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी विधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही व्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ ।
तर, म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनि सधैं मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले मप्रति रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वतः हार खानेछन् ।
अतः कोरोनाको सन्त्रासकाबीच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य व्यक्तित्वहरु, संचारकर्मीज्यूहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु।
महामारीको यो माहौलमा सिमित व्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु । उहि तपाईंकी छोरी / चेली स्वेता खड्का ।’