समाचार

३३ वर्षदेखि उत्पादन हुँदै नेपालकै पहिलो किवि बोट

चरिकोट, मंसिर । नेपालमा पछिल्लो समय किवि फल निकै लोकप्रिय बन्दै गएको छ । किविलाई फलहरुको राजा भनेर चिनिने भएकाले पनि अहिले यो फल आम मानिसहरूको रोजाइमा पर्न सफल भएको हो । तर यही लोकप्रिय फलको माउ बोट दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर–६ सिमपानी स्थित श्यामबहादुर खड्काको घरमा अझँै सुरक्षित छ र वार्षिक उत्पादन भइरहेको छ ।

हेवार्ड जातको ३३ वर्षीय यो किवि बोट नेपालकै पहिलो किवि बोट भएको दाबी गर्दै खड्काले उक्त बोटमा एक सिजनमा ७० लेखि ८० किलो किवि फल्ने र १८ देखि २० हजार रुपियाँसम्म आम्दानी हुने गरेको बताउनु भयो । स्वीस सरकारको आर्थिक सहयोगमा लामोसाँगु–जिरी सडक बन्दै गर्दा सर्भेका लागि आएका स्वीस सिभिल इन्जिनियर जेएफ मेस्सी उहाँको घरमा भाडामा बसेको बेला २०४४ सालमा पहिलोपटक किवि विरुवा रोपेको थियो।

पाँच वर्षको लागि आएका स्वीस इन्जिनियर उक्त बिरुवा रोपेको दुई वर्षमै फर्केको र त्यस्को एक वर्षपछि लहरे बोटमा झुस जस्तो फल फल्दा आफूहरु तर्सेको खड्का सम्झनुहुन्छ । “घरको आँगन छेवैमा दोस्रो, तेस्रो वर्षसम्म पनि झुस जस्तो फल फलेपछि हामी लाई पनि स्वीस इन्जिनियरले यो खान हुने फल नै रोपेको होला भन्ने लागेर भुइँमा झरेको किवि कोट्याएर खाँदा गुलियो अनि स्वादिलो लाग्यो ।”

उहाँले भन्नुभयो, “त्यसपछि भने उक्त फल बोकेर जानकारीका लागि कृषि कार्यालय देखि धेरै कृषि विशेषज्ञहरूकोमा पुगे तर पत्ता लागेन ।” २०५४ सालमा सो अन्जान फलको समाचार एक दैनिक पत्रिकामा प्रकाशित भएपछि भने केही जानकार व्यक्तिहरुले फोन गरेर बताएपछि मात्रै उक्त फल किवि भएको थाहा पाएको उहाँले बताउनुभयो । थप भिडीयो मार्फत हेर्नुहोला । भिडीयो यहाँ लिंकमा छ ।

Related Articles

Back to top button