साङ्लाले हैरान पारेको छ ? कसरी छुट्करा पाउने त ?
शहर होस् या गाउँ, भान्सामा हुने साङ्लाबाट आजित नहुने सायदै होलान् । शहरी क्षेत्रमा साङ्ला नियन्त्रण गर्न विभिन्न रसायनिक औषधि (विषादी) पनि प्रयोग गरिन्छ । तर, त्यसको प्रयोगबाट पनि प्रभावकारी नतिजा हात पार्न सकिदैन ।
त्यसमाथी मूल्यका हिसावले महङ्गा हुने त्यस्ता विषादी खरिद गर्ने कुरा सबैको आर्थिक क्षमताले नभ्याउने अवस्था पनि हुन सक्छ ।
त्यसो भए विषादी विनै साङ्लाबाट कसरी छुट्करा पाउने त ? घरेलु उपाय अपनाएर साङ्ला नियन्त्रण गर्ने विषयमा केही चर्चा यो आलेखमा गरिएको छ ।
तेजपत्ताको प्रयोग
तेजपत्ताको बास्नाले साङ्ला भाग्ने गर्छन् । घरको जुन ठाउँमा बढी मात्रामा साङ्ला देखिन्छन्, त्यही ठाउँमा तेजपत्ताको धुलो राख्ने गरेमा यसको बास्नाले साङ्ला भाग्ने गर्छन् ।
बेकिङ पाउडर र चिनी
यसको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । एक कचौरामा धुलो पारिएको चिनी र बेकिङ पाउडरलाई बराबर मिलाएर साङ्ला आउने ठाउँमा राख्नुहोस् । चिनीको स्वादका कारण साङ्लाले त्यो धुलो खान्छ र बेकिङ पाउडरको गन्धले साङ्ला मर्ने गर्छन् ।
ल्वाङ
ल्वाङको गन्धले पनि साङ्ला भगाउन मद्दत गर्छ । ल्वाङको गन्धका कारण साङ्ला तुरुन्तै भाग्ने गर्छ ।
बोरेक्स पाउडरको प्रयोग
साङ्ला बढी आउने ठाउँमा बोरेक्स पाउडर छर्नाले पनि साङ्ला चाँडै भाग्ने गर्छ । तर यो स्वास्थ्यका लागि हानिकारक हुने भएको हुँदा बालबच्चालाई टाढै राखेर यसको प्रयोग गर्नु उत्तम मानिन्छ ।
मट्टितेलको प्रयोग
मट्टीतेलको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । जहा बढी मात्रामा साङ्ला हुन्छन्, त्यस ठाउँमा मट्टीतेल छर्किनुभयो भने त्यसको गन्धले साङ्ला भाग्छन र मर्छन् पनि ।
रेड वाइन
भान्सा घरमा भएका साङ्ला भगाउनको लागि एउटा कचौरामा थोरै रेड वाइन राख्नुस् । यसको बास्नाले लुकेका साङ्लाहरु बाहिर निस्किनुका साथै भाग्ने र मर्ने गर्छन् ।
अण्डाको बोक्रो
अण्डाको बोक्रोको प्रयोगले पनि तपाइले साङ्लालाई धपाउन सक्नुहुन्छ । प्राय घरमा अण्डा प्रयोग भइरहन्छ । तर, अण्डाको बोक्रा यत्तिकै फ्याकिन्छ, यदि यसको सही प्रयोग गर्नुभयो भने साङ्ला धपाउन सकिन्छ ।
अण्डाको बोक्रा कुनै कुनामा राखेमा त्यसबाट आउने स्मेलले पनि साङ्ला बाहिर निस्किने र भाग्ने गर्छन् ।