समाचार

यी ५ नेताले छोडे प्रचण्डको साथ् ! स्थायी समितिमा ओलीको बहुमत,

काठमाण्डौ – सत्तारुढ नेकपाका अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमाथिको विवाद अहिले स्थायी समितिमा पुगेको छ। १५ दिनको अन्तरमा पेस भएका यी दुई प्रतिवेदनले उत्पन्न गरेको विवाद सचिवालयले समाधान गर्न नसकेपछि स्थायी समितिमा पुगेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनलाई ‘आरोपपत्र’ को संज्ञा दिँदै स्थायी समिति बैठक नै बहिष्कार गरेका छन्। प्रचण्डसहित सचिवालयका अधिकांश नेताहरु भने दुवै प्रतिवेदनमाथि छलफल गरेर सहमति नभए बहुमतको आधारमा निर्णय गर्नुपर्ने पक्षमा छन्।

स्थायी समितिले पनि त्यसउपर कुनै निर्णय गर्न नसके दुवै प्रतिवेदन केन्द्रीय समितिमा पुग्ने र बहुमतका आधारमा निर्णय हुने सम्भावना देखिएको छ। त्यसैले प्रधानमन्त्री ओलीले सके स्थायी समितिमै आफ्नो पक्षमा बहुमत पुर्‍याएर प्रचण्डको प्रतिवेदन असफल तुल्याउने, नसके कसैको पक्षमा पनि बहुमत पुग्न नदिने रणनीति अख्तियार गरेको एक नेताले बताए।

दुवै प्रतिवेदनमाथि मंसिर २८ गते बस्ने स्थायी समितिको बैठकमा छलफल हुनेछ। प्रधानमन्त्री ओलीले स्थायी समितिमा आफ्नो पक्षमा बहुमत पुर्‍याउने कसरत थालिसकेका छन्। त्यसका लागि उनले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुसँग तीव्र रुपमा छलफल चलाएका छन्।

‘प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीमा आफ्नो पक्षमा बहुमत पुर्‍याउन कोसिस गरिरहनु भएको छ,’ स्रोतले भन्यो, ‘बहुमत जुट्ने अवस्था नभए उहाँ स्थायी समितिको बैठकमै आउनुहुन्न।’

यदि यो उपायले काम नगरे ओलीले अर्को विकल्पमा पनि गृहकार्य गरिरहेका छन्। त्यो विकल्प हो– तीनै पक्षमा रहेका मध्यमार्गी धारका नेताहरुलाई एकै ठाउँमा उभ्याउने।

‘मध्यमार्गी धारका नेताहरु बैठकमा बोल्दा पार्टी एकतालाई जोगाउन दुवै अध्यक्षको प्रतिवेदन फिर्ता हुनुपर्ने, प्रतिवेदनमाथि अध्ययन गर्न कार्यदल बनाउनुपर्ने प्रस्ताव उनीहरुले राख्न सक्छन्,’ प्रचण्ड–नेपाल निकट एक स्थायी समिति सदस्यले भने।

गृहमन्त्री रामबहादुर थापासहित पूर्वमाओवादी खेमाका पाँच नेताहरुले आफूलाई त्यो कित्तामा उभ्याएका छन्। आफूहरुले पार्टी एकताको रक्षा गर्न चाहेको उनीहरुको दाबी छ। उनीहरुको समूहमा अझै केही स्थायी समिति सदस्य थप हुने ती नेताले बताए।

‘आफ्नो पक्षमा बहुमत नहुने भएपछि कसैको पक्षमा पनि बहुमत पुग्न नदिने गरी कोसिस भइरहेको छ,’ ती नेताले भने, ‘बैठक बस्न अझै पाँच दिन छ, यसै भन्न सकिदैँन ।

प्रस्ताव फिर्ता र कार्यदल गठनको प्रस्ताव
स्थायी समितिको बैठकले दुवै प्रतिवेदन फिर्ता गरेर त्यसमाथि छलफल गर्न एउटा कार्यदल बनाउन सक्ने सम्भावना पनि छ । यसअघि साउन ३१ गते पनि पार्टीभित्रको विवाद समाधान गर्न स्थायी समितिले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

सो कार्यदलले बुझाएको प्रतिवेदनकै आधारमा भदौ २६ गतेको स्थायी समिति बैठकले ओली र प्रचण्डबीचको कार्यविभाजनबारे व्याख्या गरेर वैशाखदेखि जारी विवाद हल गरेको थियो ।त्यस्तै खालको सहमति फेरि हुनसक्ने सम्भावना जीवित रहेको नेम्वाङ बताउँछन्।

‘यसअघि स्थायी समितिले सहमतिको दस्तावेज पास गरेको थियो। स्थायी समिति आफ्नो सहमतिको अडानबाट पछि हट्न सक्दैन,’ नेम्वाङले भने, ‘त्यसैको वरिपरि रहेर सो कमिटीले केही गर्न सक्छ। फेरि यो एउटा अवसर हो, यसमा यताउता भयो भने पार्टी एकतामै असर पर्छ।’

ओली-प्रचण्ड मिल्नुको विकल्प छैन

नेकपाका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाभित्र देखिएको संकट समाधानका लागि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दहाल प्रचण्ड मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

लमजुङमा उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेसी–शेरा कालोपत्रे सडकको मंगलबार शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले दुईअध्यक्ष ओली र प्रचण्ड मिलेर अघि बढ्दा मात्र नेकपामा देखिएको संकट समाधान हुने बताए ।

एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकोले उहाँहरुको संवाद र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । यतिवेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको उनले बताए ।

‘यो सरकारलाई जनताले पाँच बर्षको लागि म्याण्डेट दिएका छन । पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनु पर्छ । पार्टी एकताको मर्म भनेको अल्पमत र बहुमतको खेल खेल्न हुनै सक्दैन’, नेता गुरुङले भने, ‘एकताको मर्म भनेको दुवै अध्यक्षले बैठकको एजेण्डा तय गरी सहकार्य र सहमतिमा अघि बढदै पार्टी एकताका बाँकी काम सम्पन्नगरी महाधिवेशन गर्नुपर्छ ।

यो समय प्रचण्डले प्रधानमन्त्रीको राजिनामा र प्रधानमन्त्रीले प्रचण्डको राजिनामा माग्ने बेला नभएको उनले बताए । एकले अर्कालाई आरोप लगाउने अधिकार पनि पनि नभएको उनले बताए ।

praharnews

Related Articles

Back to top button