म अझै ५-७ वर्ष त बाँच्छु होला, ३०-४० वर्षकासँग प्रतिस्पर्धा गर्न तयार छु : बामदेव गौतम
तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफू अझै पनि ३० वर्षका युवासँग राजनीतिकरुपमा प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन् ।
दाङको तुलसीपुरमा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गौतमले आफू युवाहरुसँग राजनीतिमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् ।
नेपाली राजनीतिमा आफ्नो निर्णायक भूमिका रहेको बताउँदै उनले भने, ‘म अझै ५-७ वर्ष त बाँच्छु होला भन्ने लाग्छ, ३०-४० वर्षका जवानहरुसँग प्रतिस्पर्धा गर्न तयार छु । महत्वाकांक्षी भएर हो कि जस्तो लाग्छ । राजनीतिक हिसाबले म अहिले पनि युवा नै छु ।’
गौतमले ७ वर्षको उमेरदेखि नेपाली राजनीतिमा सक्रिय भएको स्मरण गर्दै हरेक निर्णायक समयमा आफू नै मुख्य भूमिकामा रहेको बताए । उनले भने, ‘मैले ७ वर्षको उमेरदेखि राजनीति गरेर यहाँसम्म आएको हुँ ।
मुलुकका हरेक परिवर्तनमा मेरो नै निर्णायक भूमिका छ । अहिले पनि मैले पार्टी विभाजन नगर्न भनेर खबरदारी गरिरहेको छु ।’
पार्टीभित्र समस्या रहेको बताउँदै उनले भने, ‘हाम्रो पार्टी सामान्य तरिकाले फुटदैन । तर, मिलेको पार्टी किन फुट्न सक्दैन ? मर्दै नमर्ने व्यक्ति कोही पनि हुँदैन, प्रकृतिको नियम जस्तै हुने भएकाले पार्टी फुट्नु कुनै नौलो कुरा पनि होइन ।’
पार्टी एकताका बेलामा भएका सहमति कार्यान्वयन नहुँदा नेकपाभित्र अहिले समस्या निम्तिएको गौतमले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिएर उपाध्यक्ष गौतमले भने, ‘विगतमा भएको सहमति कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको हो । जबसम्म नेताले आफूलाई ढाँटेर हिँड्छन् तबसम्म समस्या समाधान हुँदैन ।’