समाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज बिहान करिब अढाई घण्टा लामो छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज बिहान करिब अढाई घण्टा लामो छलफल भएको छ । बिहान साढे ९ बजेदेखि १२ बजेसम्म भएको छलफल पार्टीको आन्तरिक विषयमै केन्द्रीत भएको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको छलफलमा कर्णाली प्रदेशमा पार्टीभित्रको आन्तरिक समस्या समाधान, साँगठनिक प्रक्रियाको बाँकी एकताको काम लगायतमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

दुई अध्यक्षले जारी गर्नुभएको आन्तरिक पार्टी निर्देशनमा असोज मसान्तभित्रै सांगठनिक एकताका बाँकी काम टुङ्गो लगाउने प्रतिबद्धतासहितको निर्देशन पार्टी पङ्तिलाई गरिएको थियो । मसान्त सकिन अब दुई दिन बाँकी रहँदा दुई अध्यक्षबीच सो विषयमा गृहकार्यका लागि छलफल भएको बताइएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि देखिएको पार्टीको विवाद व्यवस्थापनमा समेत दुई अध्यक्षबीच छलफल भएको हुनसक्ने सल्लाहकार साकोटाले बताउनुभयो ।

गत मंगलबार अध्यक्षद्वय, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासहित भएको छलफलमा पार्टीको कर्णाली प्रदेशका पदाधिकारीलाई छलफलका लागि काठमाडौं बोलाइएको पत्र पठाइएको थियो । सोही पत्रका आधारमा कर्णाली प्रदेशका पदाधिकारी काठमाडौं आउनेक्रम जारी रहेको पार्टी स्राेतले जनाएको छ । त्यसको पूर्व तयारीस्वरुप दुई अध्यक्षबीच आज बिहान छलफल भएको हुनसक्ने दलका नेताहरुको बुझाई छ ।

पार्टी सचिवालय बैठकको कार्यसूचीअनुसार छलफल गर्नुपर्ने र दुई अध्यक्षलाई दिइएको प्रस्ताव बनाउने जिम्मेवारीसमेत हालसम्म पूरा नभएकाले दुई अध्यक्षबीच सो विषयमा समेत नियमित छलफल भइरहेको छ । मन्त्रिपरिषद पुनर्गठन, सांगठनिक एकता प्रक्रियाको टुङ्गो, केन्द्रीय कार्य समितिका सदस्यहरुको भत्ता लगायतका कार्यसूची तय गरिएका छन् तर सो विषयमा ठोस निर्णय हुन बाँकी छ ।

सबै समस्या समाधानको उपायसहित दुई अध्यक्षले प्रस्ताव तयार गर्नुभएपछि त्यसमा केन्द्रित भएर छलफल गर्ने जिम्मेवारी सचिवालय बैठकले अध्यक्षद्वयलाई दिएको थियो । अध्यक्षबीचको छलफलले अझै सो प्रस्ताव तयार गर्ने ठोस तयारी गर्न नसकेकाले सचिवालय बैठक पनि अनिश्चित् बनेको छ । बीचमा कर्णाली प्रदेशको पार्टीको आन्तरिक समस्या बल्झेपछि त्यसमा पनि दुई अध्यक्ष व्यस्त हुनुपर्ने भएपछि सचिवालय बैठकको मिति अझै लम्बिने बुझाई नेताहरुको छ ।

Related Articles

Back to top button