दसैँमा घर गएपछि सातदिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने…
काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यात्रा गर्नु अघि ७ दिन र गतव्यमा पुगिसेपछि ७ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घर जानुभन्दा अगाडि वा कतै यात्रा गर्ने योजनामा भए अनिवार्य रूपमा क्वारेन्टिन बस्नुपर्ने सरकारले निर्णय गरेको बताए।
‘७ दिन एकान्तबासमा बसेपछि कोरोना भाइरसको कुनै लक्षण वा चिन्ह छैन भने यात्रा गर्नुहोस,’ डा. गौतमले भने, ‘गतन्व स्थानमा पुगेपछि पुन ७ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ।’
नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको मन्त्रालयले बताएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४७३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।