समाचार

गगन थापाकी १ छोरीबाहेक परिवारका सबै सदस्यमा देखियो कोरोना

काठमाडौं । कोरोना संक्रमित नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको परिवारका सदस्यमा कोरोना भाइरस एकपछि अर्को गर्दै देखिन थालेको छ । सुरुमा गगनमा मात्रै संक्रमणको पुष्टि भएता पनि उनका बुबा आमा र काकामा संक्रमण देखिएसँगै अहिले आएर थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टि भएको हो। थापाकी पत्नि र एक छोरीलाई आज संक्रमणको पुष्टि भएको भएता पनि अर्की छोरीमा भने कोरोना देखिएको छैन । उनीहरु होम आइसोलेसनमा नै बसेर आराम गरिरहेका छन् ।

यो पनि , बुटवलमा एकै दिन तीन कोरोना सङ्क्रमितको निधन, बुटवल । बुटवलमा कोरोना सङ्क्रमितको एकै दिन आज तीन जनाको निधन भएको छ । अस्पतालका कोरोना सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक सङ्क्रमितको भने उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा निधन भएको छ ।

बुटवलको सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्ष नपाइएका दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा लैजाँदै गर्दा आज बिहान बाटैमा निधन भएको हो । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा निधन भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनी लामो समयदेखि मुटु रोगको समस्याले पीडित रहेको जनाइएको छ ।

कोरोना सङ्क्रमित बुटवल–११ की ६१ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान करिब २ बजे कोरोना विशेष अस्पताल बुटवलमा निधन भएको हो । बुधबार कोरोना विशेष अस्पतालको कक्षमा भर्ना भएकी सङ्क्रमित महिलाको उपचारका क्रममा निधन भएको जनाइएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको निधन भएको अस्पतालले जनाएको छ । बुटवल–१ का ७० वर्षीय पुरुषको गए राति १० बजे कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको हो । शनिबार अस्पताल भर्ना भएका उनमा यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button