समाचार

भावविह्वल बनेका हजुरबुबाले फाँसीको सजाय दिएमात्रै सम्झनाको आत्माले शान्ति पाउने बताए 

बझाङ — आफन्त र परिवारका सदस्यले सदरमुकाम चैनपुर नजिक सेती नदी बाहुलीगाडको दोभानमा सम्झनाको बुधबार अन्तिम संस्कार गरेका छन् । दोषीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्ने माग राख्दै परिवारले शव बुझ्न मानेको थिएन ।

प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको थियो । सम्झनालाई श्रद्धाञ्जली दिन जिल्लास्थित राजनीतिकर्मी, मानवअधिकारकर्मी र दलित अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थाका प्रतिनिधि सेती दोभान पुगेका थिए ।
छोरीको हत्याको घटना सुनेर आइतबार मात्रै भारतबाट बझाङ आइपुगेका विकास कामी भने कोरोना संक्रमित भएका कारण अन्तिम बिदाइमा सहभागी हुन पाएनन् । उनी सदरमुकामस्थित एक घरमा आइसोलेसनमा छन् । अन्त्येष्टिपछि भावविह्वल बनेका हजुरबुबाले आफूले दुःख गरेर हुर्काएकी नातिनीको जीवन समाप्त पार्नेलाई फाँसीको सजाय दिएमात्रै सम्झनाको आत्माले शान्ति पाउने बताए ।

यसैबीच हत्याको आरोपमा पक्राउ परेका मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराले अपराध स्वीकार गरेका छन् । गत बुधबार सोही ठाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो । त्यही दिन पक्राउ परेका बोहराले आठ दिनपछि बुधबार प्रहरीसामु हत्या स्विकारेका हुन् ।

गोठ हिँडेकी सम्झनालाई खिकाला गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला जंगलबाट नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेको उनले साविती बयान दिएको प्रहरीले जनाएको छ । ‘सुरुमा फकाएर मन्दिरतर्फ लगेको र सम्झनाले मन्दिरभित्र जान नमानेपछि उनले बोकेको डोको, नाम्लो र हँसिया थुतेर फालिदिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि लछारपछार गर्दै मन्दिरभित्र लगेर बलात्कार गरेछ ।’ बलात्कारका क्रममा सम्झनाले सक्दो प्रतिकार गरेको र गाउँका सबैलाई भनिदिन्छु भनेपछि पोल खुल्ने डरले हत्या गरेको बोहराले बयानमा बताएका छन् । उनले मन्दिरभित्र रहेको त्रिशूल र घनले हानेर हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका हतियार बरामद गरिसकेको छ

zkhabar

Related Articles

Back to top button