समाचार

अपराधीलाई कानुनी कठघरामा ल्याउँछौँ : गृहमन्त्री रामबहादुर थापा

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले बलात्कार लगायतका कतिपय घटनामा अपराधीलाई कानुनी कठघरामा ल्याउन ढिलाइ भएको स्वीकार गरेका छन । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री थापाले कानुनी कारबाहीको प्रक्रियामा कतिपय त्रुटि भएको स्वीकार गर्दै सरकार पीडकलाई कानुनी कठघरामा ल्याउन प्रयत्नशील रहेको बताए ।

उनले पछिल्लो समयमा बढिरहेका बलात्कारका घटना राज्यका लागि चुनौती भएको बताउनुभयो तर कतिपय अन्य देशको तुलनामा नेपालको अवस्था चिन्तित हुनुपर्ने नभएकोसमेत बताउँदै उनले भने, “अपराधीलाई कानुनको कठघरामा ल्याउने कुरामा केही कमजोरी पनि भएका छन् ।

कञ्चनपुर घटनाका अपराधीलाई कठघरामा ल्याउने सरकारको प्रतिबद्धता नै हो तर हालसम्म भएको छैन । ढिलाइ अवश्य भएको छ । हामी निरन्तर रूपमा अपराधीलाई कानुनी कठघरामा ल्याउन लागिरहेका छौँ । विश्वास छ, हामी यसमा सफल हुन्छौँ ।”

पहिलेको तुलनामा बलात्कारका घटना वृद्धि भएको पनि उनले बताए । यस अघि औसत दैनिक छवटा बलात्कारका उजुरी दर्ता हुनेमा अहिले सातवटा पुगेको मन्त्री थापाको भनाइ छ । विश्वका सवा दुई सय देशको तुलानामा बलात्कारका घटना हुने देशमा नेपाल अन्तिमबाट १५औ स्थानभित्रै पर्ने दाबी गर्दै उनले घटना न्यूनीकरणका लागि सरकार प्रयत्नशील रहेको पनि बताए ।

उनले राजनीतिक नेतृत्व र प्रशासनबाट पनि केही कमजोरी भएको बताए । ती निकायबाट अपेक्षित भूमिका हुन नसकेको उनको भनाइ छ ।

 

Related Articles

Back to top button