डा केसीका ६ वटै मागको चिरफारको शृंखला सुरु
काठमाडौं- डा गोविन्द केसीले १९औं अनसन सुरु गरेको आइतबार १४ दिन पुगेको छ। उनको स्वस्थ्य अवस्था गम्भीर हुँदै गएको चिकित्सकहरुले बताएका छन्। यसैबीच काठमाडौं लगायत देशका विभिन्न भागमा डा केसीको पक्षमा प्रदर्शन भएका छन्। उनले उठाएका माग पूरा गर्न र उनको जीवनरक्षाको माग गरिएको छ। तर सरकारले भने अनसनलाई बेवास्ता गरिरहेको छ। डा केसीसँग वार्ताको लागि कुनै पहल भएको छैन।
डा केसीले आफ्ना विगतका अनसनहरुमा पनि मुख्यगरी चिकित्सा क्षेत्रका मागहरुलाई प्राथमिकता दिने गरेका थिए। त्यसका अतिरिक्त अन्य सान्दर्भिक माग पनि उठाउँदै आएका छन्। त्यस्ता माग यसपटकको अनसनका क्रममा पनि उठाएका छन्।
नेपाल लाइभले डा केसीका ६ वटै मागको चिरफारको शृंखला सुरु गरेको छ। यसअघि सुरुका ५ वटा मागको विश्लेषण भइसकेको छ। यो अंकमा हामी उनको छैटौं मागबारे चर्चा गर्नेछौं।
यो पनि पढ्नुहोस्
डा केसीका मागमाथि चिरफार-५ : ‘राष्ट्रवादी’ नेताका जिल्लाको ‘जनवादी’ एजेन्डा बयालपाटा अस्पताल
आइतबार, असोज ११, २०७७
डा केसीको १९औं अनसनको छैटौं माग छ- राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानबिन र कारबाही गरियोस् । बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारबाही चलाइयोस्। यी सबै प्रकरणका दोषीहरुलाई कारबाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारबाही गरियोस्। अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस्।
देशमा तीन थरी खबर बारम्बार सुनिन्छ। पहिलो, भ्रष्टाचार हुन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। दोस्रो, भ्रष्टाचारका ठूलाठूला काण्डहरु। तेस्रो, ठूला काण्डका आरोपितहरुको बचाउमा प्रधानमन्त्रीका अभिव्यक्तिहरु।
डा केसीको मागमा समेटिएका राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्ड, बालुवाटार जग्गा काण्ड जस्ता काण्डहरुको यथोचित छानबिन र दोषीमाथि कारबाही हुन सकेको छैन।
anti corruption group