सरिता गिरीले छिमेकीको सहयोग मागेर भए पनि नेपालको उत्तरी सिमाना रक्षा गर्न सरकारसँग माग
७ असोज, काठमाडौं । पूर्वमन्त्री सरिता गिरीले छिमेकीको सहयोग मागेर भए पनि नेपालको उत्तरी सिमाना रक्षा गर्न सरकारसँग माग गरेकी छन् । चीनले हुम्लामा नेपालको भूमि अतिक्रमण गरेको भन्ने विषयमा पनि सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने गिरीको माग छ ।
गिरीले आज विज्ञप्ति जारी गरी सरकार आफैंले सिमानाको रक्षा गर्न नसके मित्र राष्ट्रसँग सहयोग माग्नुपर्ने उल्लेख गरेकी छन् । उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यदि नेपाल सरकार आफनो सिमानाको रक्षा अहिलेको अवस्थामा स्वयं गर्न सक्षम छैन भने मित्र राष्ट्रहरुसँग सल्लाह गरी र सहयोग मागी नेपालको उत्तरी सिमानाको रक्षाको व्यवस्था गर्नका लागि तत्काल अग्रसर हुन सरकारसँग आग्रह गर्दछु । साथै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीनले नेपालको भूमि अतिक्रमण गरेकोबारे पनि नेपाल सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन माग गर्दछु ।’
हुम्ला र गोरखाको रुई गाउँमा चीनले नेपाली भूमि अतिक्रमण गरेको दाबी गर्दै गिरीले, यसलाई बेवास्ता गर्दै गएमा नेपाल क्षेत्रीय द्वन्द्वमा फस्न सक्ने आशंकासमेत गरेकी छन् ।
चीनले भने नेपालसँग कुनै पनि भौगोलिक विवाद नरहेको भन्दै हुम्लामा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ ।
नेतृ गिरीले भारतसँग देखिएको सीमा विवाद ऐतिहासिक तथ्य र प्रमाणको आधारमा वार्तामार्फत् समाधान गर्न पनि माग गरेकी छन् ।
समाजवादी पार्टीकी पूर्व सांसद गिरीले यसअघि लिम्पियाधुरा–कालापानीसमेतका भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गरेकोमा विरोध जनाएकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् ।
समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेपछि पार्टीबाट हटाएको थियो । पार्टीबाट हटेपछि उनको सांसद पद पनि गुमेको थियो ।