छोरा भनेर भारतीयलाई नागरिकता, ८ महिनापछि पक्राउ…!
काठमाडौँ । सर्लाही प्रहरीले झुठा विवरणका आधारमा नागरिकता बनाइदिने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बरथवहा नगरपालिका–२ घर भई हाल सर्लाही हरिवन नगरपालिका–१० ताईवान सुकुम्वासी टोल बस्ने ५२ वर्षीय गिर्ज बहादुर भण्डारी रहेका छन् ।
भण्डारीले २०७६ पुस ३ गते झुठा विवरणको आधारमा भारतीय नागरिकलाई आफ्नो छोराको नाम दिएर नागरिकता बनाइदिएको हल्ला चलेपछि फरार भएका थिए भने भारतीय नागरिकलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो ।
झुटा विवरण पेश गरेर भण्डारीले भारतको सितामढी बगमढी ग्राम पञ्चायत घर भएका २५ वर्षीय सिताराम सिंह राजपुतलाई आफ्नो छोरा भन्दै निरज भण्डारी नाम राखेर नेपाली नागरिकता दिलाइदिएका थिए ।
८ महिनासम्म फरार रहेका भण्डारीलाई सर्लाहीमै लुकिछिपी बसेको अवस्थामा बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।
मुख्य अभियुक्त भण्डारीले भारतीय नागरिक छोरा भएको बताउँदै राजपुतबाट मोटो रकम लिएर नागरिकता दिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी राठौरले बताए ।
प्रहरीसँगको सोधपुछको क्रममा राजपुतले ना.प्र.नं. १९–०७–७६–०३१३३ नागरिकता गिर्ज बहादुर भण्डारीको छोरा बनेर लिएको बयान दिएका थिए । राजपुतको बयानको आधारमा भण्डारी प्रहरीको खोजीमा थिए ।
अन्ततः नागरिकता बनाइदिने मुख्य अभियुक्त भण्डारीलाई इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धव सिंह भाटको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो । भण्डारीविरुद्ध २०७६ पुस ४ गते मुद्दा अदालतमा दायर भएको थियो ।
नागरिकता ऐनअनुसार झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशीलाई १ वर्षदेखि ५ वर्ष कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
यस्तै विदेशीलाई नागरिकता सनाखत र सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।
यसअघि पनि सर्लाही प्रहरीले ठूलो मात्रामा ३०९ केजी अवैध लागूऔषध गाँजासहित एउटा ट्रक बरामद गरेको थियो । प्रहरी देखेपछि ट्रक चालक गाडी छाडेर भागेका थिए । गाडी चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।