समाचार

केहि दिन अघि मात्रै आमा गुमाएका दुर्गाप्रसादले पाए आठ लाख,विनाकसुर ४० वर्ष भारतीय जेलमा बिताएका थिए जीवन

विनाकसुर करिब ४० वर्ष भारतीय जेलमा जीवन बिताउनुभएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली रु आठ लाख उपचार वापतको राहत रकम पाउनुभएको छ । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलले सो रकम बराबरको चेक तिम्सिनालाई हस्तान्तरण गर्नुभएको हो ।

भारतको उच्च अदालत कोलकाताले गत मङ्सिर २१ गते शुक्रबार तिम्सिनालाई भारु रु पाँच लाख उपचारवापतको रकम दिलाउन पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको थियो । सोही आदेशबमोजिमको रकम उहाँलाई हस्तान्तरण गरिएको महावाणिज्य दूत पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो क्षतिपूर्ति वापतको रकम होइन, लामो समय विनाकसुर जेल जीवन बिताउँदा उहाँ बिरामी पर्नुभएको छ । उपचारका लागि अदालतले उपलब्ध गराइदिएको रकम मात्र हो । क्षतिपूर्तिका लागि माग दाबी गर्ने अब बाटो खुलेको छ । प्रक्रियामा जाने तयारीमा छौँ ।”

उहाँका अनुसार सो रकम हस्तान्तरण कार्यक्रममा दुर्गाप्रसादका परिवारका सदस्य तथा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा र भतिजा गोपाल तिम्सिनाको उपस्थित हुनुहुन्थ्यो । प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली, स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवीको पनि सो अवसरमा उपस्थिति रहेको थियो ।

इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मङ्गलबारे बजार गए पनि घर नआई सो पैसा लिएर भारतको दार्जिलिङ सहर पुग्नुभएको थियो । दार्जिलिङमा रहँदा उहाँलाई एक युवतीको हत्या आरोपमा जेल चलान गरिएको थियो । सो आरोप मिथ्या सावित भएपछि विसंं २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । उहाँ गत चैत ७ गते कोलकाताको दमदम कारागारबाट रिहा हुनुभएको थियो ।

उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले दुर्गाप्रसादको न्यायको पक्षमा भन्दै निःशुल्क बहस गरेका थिए ।

Related Articles

Back to top button