समाचार

नेपाली युवाको नियति: अतिथि सत्कारको काम भनेर विदेश, तर ट्वाइलेट र ढल सफागर्ने जिम्मा !

काठमाडौं । ‘अतिथिको स्वागत गर्ने काम हो’ भनेर साउदी पुगेका युवा, त्यहाँ अहिले ट्वाइलेट सफा गर्न बाध्य छन् ।

ट्वाइलेट सफा गर्ने काम गर्नै हुँदैन त कसैली पनि भन्दैन । तर जे कामका लागि पठाउने हो । त्यही जानकारी म्यानपावरले किन दिएन ? होटल रुम अटेन्डेन्टको काम भनेर साउदी पठाउने पिजन एचआर सोलुसन म्यानपावर कम्पनीले गरेको बेइमानीका कारण पीडित युवाका अभिभावकहरुले समेत हैरान खेपिरहेका छन् ।

१० दिनदेखि छोराको उद्दार गरिदिनु प¥यो हजुर भन्दै कार्यालय–कार्यालय धाइरहेका छन, ती युवाका अभिभावकहरु । तर यिनीहरुको गुनासो कसैले सुनिदिएन । हजारौं नेपाली युवाको कथा व्यथामा मिसिन आइपुगेको छ उनीहरुको कथापनि ।

एक कामका लागि बिदेश गएर अर्कै काम गर्न बाध्य भएका युवकका अभिभावक हुन्, झापा कचनाकवल गाउँपालिका २ का चन्द्र शंकर अधिकारी ।

गत मंसिर २९ गते उनका २८ वर्षीय छोरा धर्मराज अधिकारी वैदेशिक रोजगारीका लागि भन्दै साउदी उडे । साउदीमा धर्मराजले होटल रुम अटेन्डेन्ट अर्थात होटेलमा आउने पाहुनाको स्वागत सत्कारको काम गर्नुपर्ने भनिएको थियो ।

काठमाडौँको बसुन्धरास्थित पिजन एचआर सोलुशन म्यानपावर कम्पनीबाट धर्मराज साउदी उडेका थिए । आर्थिक अभावले थलिएको अधिकारीको परिवारमा छोराले विदेशमा राम्रो कमाई गरे सिंगो परिवारको जीवनस्तर उकासिने अपेक्षा थियो । तर, जब चन्द्रशंकरका छोरा साउदी पुगे तब परिस्थीति सोचे भन्दा फरक भईदियो ।

धर्मराजलाई पाहुनाको सत्कारमा होइन शौचालय र ढल सफा गर्ने काममा लगाइएको रहेछ । शौचालय र ढल सफा गर्ने काममा लगाएर म्यानपावर कम्पनीले झुक्याएपछि धर्मराजले भिडियो मार्फत आफ्नो परिवारलाई जानकारी दिएका थिए ।

पाहुना सत्कार भनेर ढल सफा गर्ने काममा धकलेपछि म्यानपावरविरुद्ध चन्द्रशंकर दुःखी भए । छोरो फर्काउन भन्दै चन्द्रशंकर १० दिनदेखि काठमाडौंमा यता उता गर्दै भौतारिरहेका छन् । तर छोरो फर्किने टुंगो लागेको छैन ।

यसबीच उनले म्यानपावर कम्पनीलाई छोरालाई फर्काइदिन बारम्बार आग्रह गरे । म्यानपावर कम्पनीले आलटाले जवाफ दिएपछि उनले त्यसविरुद्ध वैदेशिक रोजगार विभागमा समेत उजुरी गरे । तर, हालसम्म उनका छोराको उद्दारका लागि कतैबाट पहल भएको छैन ।

सरोकारवाला निकाय धाउँदा धाउँदा हैरान भएका चन्द्र शंकर झिनो आशा बोकेर न्यूज २४ कार्यालयमा आए । र, आफ्नो छोराको उद्दारका लागि पहल गरिदिन आग्रह गरे ।

खगेन्द्र प्रसाद राजवंशीका भाई २६ वर्षीय सुरेन्द्र कुमार राजवंशीको भोगाई पनि उस्तै छ । खगेन्द्रका भाई सुरेन्द्र र धर्मराज एउटै कामका लागि एकै दिन साउदी उडेका थिए । यी दुबै जना अहिले अश्ला रियल स्टेट कम्पनीमा शौचालय सरसफाईको काम गर्न बाध्य छन् ।

पीडितहरुले साउदी जान विश्वास खड्का नाम गरेका एजेण्टलाई १ लाख ७० हजारका दरले रकम बुझाएका छन् । उनीहरुले राम्रो काम दिलाउने प्रलोभनमा बैंकमार्फत विश्वास खड्कालाई रकम बुझाएका हुन् । तर, अहिले पीडितहरुले बारम्बार फोन गरेर आफ्नो समस्या सुनाउँदा पनि उनी र म्यानपावर कम्पनीले कुनै चासो नै दिएका छैनन् ।

Related Articles

Back to top button