समाचार

हत्या गर्न घर नै लिए ३० हजार भाडामा, गाडेपछि माथिबाट गरे ढलान

काठमाडौं– मोरङमा दुई र ललितपुरमा एक जग्गा व्यापारीको हत्या घटनाको अनुसन्धानको क्रममा नयाँ–नयाँ पाटाहरु खुल्दै गएका छन्। व्यापारी हत्याको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङ र मोरङ प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेको महानगरीय अपराध महाशाखाको टोलीले हत्यामा हुनसक्ने सम्भावित विभिन्न पाटाहरुको अनुसन्धानको क्रममा नयाँ तथ्यहरु खुल्दै गएका हुन्।

तीन व्यवसायी राजेन्द्रकुमार श्रेष्ठ, शम्भु चौधरी र मोहन लिम्बूको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर मोरङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। श्रेष्ठ, चौधरी र लिम्बूको हत्या आरोपमा सिरहाको सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम र मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनारलाई प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ परेकाहरुबाट नयाँ नयाँ तथ्यहरु खुल्दै गएका प्रहरी बताउँछ।

गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको थियो। उक्त शव सिरहा घर भई काठमाडौं बस्दै आएका शम्भु चौधरी र धरान घर भई भक्तपुर बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो।

उखु काट्न गएका किसानले भर्खर खनेजस्तो खाल्डो र बाहिर रगत देखेपछि प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराएका थिए। त्यसपछि मोरङका एसपी जनार्दन जिसीसहितको टोली गएर खाल्डो उत्खनन् गर्दा चौधरीको शव भेटिएको थियो। शवमा हात डोरीले बाँधिएको र घाँटीमा समेत डोरीको डाम थियो।

भोलिपल्ट अर्को खाल्डो खनेर हेर्दा श्रेष्ठको शव भेटिएको थियो। उक्त खाल्डोबाट मोबाइलको सीमकार्ड, पर्स, सवारी चालक प्रमाणपत्र समेत फेला परेको थियो। करिब २० मिटरको दूरीमा रहेका दुई खाल्डाबाट प्रहरीले दुई शव निकालेको थियो। दुवैलाई एउटै प्रकृतिबाट हत्या गरी खाल्डोमा गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। शव गलाउन नुनको समेत प्रयोग गरिएको थियो।

ललितपुरमा मोहनको हत्या, खोज्न भन्दै मोरङ पुर्‍याइएका दुई व्यवसायी मारिए

प्रहरी अनुसन्धान अनुसार मोहनको हत्या गत मंसिर २८ गते भएको खुलेको छ। उनको हत्या गर्न मण्डलले एउटा घर नै भाडामा लिएका थिए। सामाजिक सञ्जाल फेसबुकमा घर भाडामा रहेको जानकारी पाएपछि मण्डलले उक्त घर मासिक ३० हजार रुपैयाँ तिर्नेगरी भाडामा लिएका थिए। त्यसपछि मोहनलाई उक्त घरमा बोलाएर मण्डलले हत्या गरेको खुलेको छ।

नाइलनको डोरीले घाँटी कसेर हत्या गरेपछि मण्डलको शव घरकै कम्पाउण्डमा खाल्डो खनेर गाडिएको अवस्थामा बिहीबार प्रहरीले उत्खनन् गरेको थियो। ‘सुरुमा मण्डलले घरभित्रै शव गाड्ने प्रयास गरेछन्। घरभित्रको सिमेन्टको ढलान फोड्न नसकेपछि उनले बाहिर करिब ५ फिटको खाल्डो खनेर शव गाडेको अवस्थामा भेटियो’, एक अनुसन्धान अधिकृतले भने, ‘खाल्डो खनेर शव गाडेपछि माथिबाट ढलान समेत गरिएको थियो।’

मण्डल पक्राउ परेपछि उनैले दिएको बयान तथा सूचनाका आधारमा प्रहरीले उत्खनन् गर्दा मोहनको शव भेटिएको हो। काठमाडौंमा पक्राउ परेका मण्डललाई बिहीबार मात्रै प्लेनमार्फत मोरङ पठाइएको थियो। मोरङ पुगेपछि उनले आफ्नो अपराध स्वीकार्दै मोहनको शव गाडेको ठाउँ प्रहरीलाई भनेका थिए।

यता, ललितपुमार मंसिर २८ गते मोहनको हत्या गरेपछि उनलाई खोज्न भन्दै राजेन्द्र र शम्भुलाई मण्डलले मोरङ पुर्‍याएका थिए। प्रहरी स्रोतका अनुसार एउटा गाडी रिजर्भ गरेर तीनै जना मोरङ गएका थिए। त्यसपछि मण्डलले योजनाअनुसार उनीहरुलाई केही दिन मोहन आउनसक्ने भन्दै भुलाएका थिए। त्यसपछि भारतीयको सहयोगमा राजेन्द्र र शम्भुलाई मोहनकै शैलीमा मारेर गाडेको प्रहरी अधिकारी बताउँछन्।

Related Articles

Back to top button