समाचार

भारतबाट घर आउँदै गरेका श्रीमान हराए: खोजी गरी दिन श्रीमतिको आग्रह

भारतबाट घर आउँदै गरेका श्रीमान सम्पर्क विहीन भएपछि रोल्पा परिवर्तन गाउँपालिका–४ खोलागाउँ (हाल घोराही १२ बटलपुर) की विरमाली रोकाले आफ्नो श्रीमानको खोजिदिन आग्रह गर्नुभएको छ । विहीबार घोराहीमा पत्रकार सम्मेलन गर्दै ६ दिनदेखि सम्पर्क विहीन आफ्ना श्रीमान बिरबहादुर रोका (३९) लाई खोजी गरिदिन आग्रह गर्नुभएको हो।

भारतको बैशाली जिल्ला पटनास्थीत पुल निर्माण गर्ने डियु कोरियन कम्पनीमा काम गर्ने रोका शनिवार नेपाल आउने क्रममा हराउनुभएको हो । शनिवार साँझ सात बजे श्रीमति विरमाली रोकासँग कुरा गर्दै बिरबहादुरले कम्पनीबाट २० दिनको बिदामा नेपाल आउन थालेको बताउनुभएको थियो ।

‘श्रीमानसँग शनिवार साँझ सात बजेतिर अन्तीम पटक कुरा भएको थियो । उहाँले उतैबाट काठमाडौ गएर विदेशका लागि भिसा लगाउने कुरा गर्नुभएको थियो’, पत्रकर सम्मेलनमा बिरमाली भन्नुभयो, ‘त्यो बेला श्रीमानले पटनास्थित बसपार्कमा बस हिड्ने पखाईमा छु । बाटोमा सम्पर्क नहुन सक्छ भन्नुभएको थियो ।’

विरमाली अनुसार बिरबहादुर पटनाबाट रक्सौला–बिरजंग हुँदै काठमाडौं आउने र विदेश जानका लागि भिसा लगाउने कुरा भएको थियो । ‘भारतको पट्नाबाट सिधै काठमाडौं आउने र त्यहीबाट विदेशका लागि भिसा लगाउने कुरा गर्नुभएको थियो । मैले पनि त्यही भएर सम्पर्क गरेको थिएन’,उहाँले भन्नुभयो, ‘तर दुई दिनसम्म पनि श्रीमानले फोन नगरेपछि यताबाट सोमवार फोन गर्दा उहाँको मोवाइल स्वीचअफ भन्छ ।’

उहाँले सोमवारदेखि आफुले निरन्तर रुपमा भारतमा प्रयोग गर्ने नम्वर र नेपालमा प्रयोग गर्ने एनसेलको नम्वरमा फोन सम्पर्क गरेपनि दुवै नम्वरमा सम्पर्क हुन नसकेकाले श्रीमानको खोजी गरिदिन मानवअधिकारकर्मी, पत्रकार, प्रहरीलगायत सम्पूर्णलाई आग्रह गरेको बताउनुभयो । विरमालाका अनुसार श्रीमान भारतमै अपरणमा पर्नुभएको कि भन्ने शंका लागेको बताउनुभयो।

बिरबहादुरको खोजी गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय दाङदेखि उहाँ कार्यरत पटनाको कोरियन कम्पनीलाई समेत आग्रह गरिएको बिरबहादुर आफन्त सेते वलीले बताउनुभयो । उहाँका अनुसार आफुहरुले बिरबहादुर सम्पर्क विहीन भएपछि कम्पनीदेखि पटनास्थित कम्पनीमा कार्यरत नेपालीहरुलाई पनि खोजी गरिदिन आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार पटनास्थित पुल निर्माण गर्ने कोरियन कम्पनीमा दाङलगायतका नेपालका विभिन्न जिल्लाका करिव पाँच सय कामदारहरु कार्यरत छन् ।

Related Articles

Back to top button