समाचार

गुल्मी जिल्लाकी स्वयंसेविका जसले एक वृद्धालाई पिठ्यूँमा बोकेर कोभिडको खोप लगाउन लगिन

गुल्मी : एक स्वास्थ्यकर्मीले वृद्ध महिलालाई बोकेर कोभिड-१९ विरुद्धको खोप लगाउन लैजाँदै गरेको तस्बिर अहिले निकै भाइरल भएको छ। गुल्मी जिल्लाको उक्त तस्बिर पूर्वसचिव भीम उपाध्यायले आज बिहान फेसबुकमा हालेपछि त्यसलाई कपी गरेर धेरैले भाइरल बनाइरहेका छन्।

सामाजिक सञ्जालमा तस्बिरको खासै जानकारी दिएको छैन। खाली गुल्मी जिल्लाको गौडाकोटकी स्वास्थ्य स्वयंसेविका लिला थापा भनिएको छ। उहाँले एक वृद्धालाई बोकेर कोभिड-१९ विरुद्धको खोप लगाउन लाँदै गरेको जानकारी दिइएको छ।

वृद्धा महिलालाई बोक्ने स्वास्थ्य स्वयंसेविका गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका-३ राजा निवासी लिला थापा हुनुहुन्छ। उहाँको पिठ्यूँमा बोकिने वृद्धा गुल्मी दरबार गाउँपालिका-३ धारापानीकी देवीकला टण्डन हुनुहुन्छ।

लिलाले गत शुक्रबार अर्थात माघ १४ गते देवीकलालाई बोकेर खोप लगाउन गौडाकोट स्वास्थ्य चौकी लैजानुभएको हो।

स्वास्थ्य स्वयंसेविका लिलाले हेल्पाटीलाई दिएको जानकारी अनुसार ८० वर्षीया देवीकला एक्लै गाउँमा बस्नुहुन्छ। उहाँका एक जना छोरा बुटवल र एक जना भारतमा हुनुहुन्छ। छोराहरू गाउँ नबस्ने, आमा गाउँ छाड्न नमान्ने भएपछि देवीकला एक्लै पर्नुभएको छ। गाउँमै बिहे गर्नुभएकी छोरीले बेला-बेला गएर हेरचाह गर्नुहुन्छ।

देवीकलाले अहिलेसम्म कोभिड-१९ विरुद्धको कुनै खोप लगाउनुभएको थिएन। गौडाकोट स्वास्थ्य चौकीमा खोप लगाउने शुक्रबार अन्तिम दिन थियो। देवीकलाको घरबाट स्वास्थ्य चौकी हिँडेर पुग्न १० मिनेट जतिको बाटो छ।

गतसाल ब्लड प्रेसरले हानेर थलिनुभएकी उहाँको खुट्टाका औँलासमेत पाकेर हिँडन्सक्ने अवस्था छैन। शुक्रबार बिहान देवीकलाकी छोरी फुर्सी घिमिरे आएर आमालाई कसरी खोप लगाउन लैजाने भनी समस्या सुनाउनुभयो। त्यही दिन गाउँमा मान्छे मरेर सबैजसो पुरुषहरु मलामी गएकाले बोक्ने मान्छे पनि पाइएन।

छोरी फुर्सी आफैँ बिरामी भएकाले आमालाई बोकेर लैजान सक्ने अवस्था थिएन। अरु कुनै विकल्प नभएपछि आफैँले बोकेर लगेको स्वास्थ्य स्वयंसेविका लिला बताउनुहुन्छ।

स्वास्थ्य चौकीमा लगेर देवीकलालाई स्वास्थ्यकर्मीले जोनसोन खोप लगाइदिए। त्यसपछि फेरि लिलाले घरसम्मै बोकेर पुर्‍याइदिनु भयो।

यो खबर हेल्थ पाटी बाट साभार गरिएको हो ।

Related Articles

Back to top button