समाचार

मुदिर’ बनाउँछु भनेर साउदीमा महेन्द्रलाई कम्पनीले ठग्यो, रित्तो हात फर्कँदा श्रीमतीको साथ मिल्यो

रौतहट – श्रीमानले विदेशमा कमाउन थालेपछि त सुखका दिन आउलान् भन्ने सपना देख्नुहुन्थ्यो चन्द्रपुर नगरपालिका ८ मोतीपुरकी ३८ वर्षीय रुकु चौधरी । तर जब श्रीमानकाे विदेश यात्रा तावाबाट उफ्रेर भुङ्ग्रोमा भनेजस्तै भयो । तब रुकुले साँचेका सपना पनि चकनाचुर भयो ।

अहिले रुकु भन्नुहुन्छ ‘विदेशको कमाइमा हैन सुख त आफ्नै पौरखमा रहेछ ।’

श्रीमान् महेन्द्र पहिलो पटक वैदेशिक रोजगारीमा जाँदा त विदेशको कमाइले घर व्यवहार चलाउन अलि अलि भए पनि भरथेग गर्‍यो । तर जब दोस्रो पटक मुदिर बन्ने सपना बोकेर श्रीमान् त्यही कम्पनीमा जानुभयो तब रुकुले कल्पनै नगरेको दुःख र हण्डर सहन पर्‍यो ।

पहिलो पटक २०६८ साल भदौमा साउदी जानुभएको थियो रुकुका श्रीमान् महेन्द्र । त्यो बेलामा कम्पनीमा सामान्य कामदारका रूपमा काम गर्दा महेन्द्रले त्यहाँ कमाएर घर खर्च र वृद्ध बुवाको उपचार खर्च पुर्‍याउनुभयो । जसोतसो पाँच वर्ष बिताएर २०७३ सालमा घर फर्कनुभयो ।

यो पाँच वर्षमा ठुलो प्रगति गर्न नसके पनि घर व्यवहार चल्यो । वृद्ध बुवाको उपचार भयो । महेन्द्रको मन यसमै खुसी थियो । तर दोस्रो पटक मुदिर बन्ने सपनाले भन्ने महेन्द्रलाई दुःखको भुङ्ग्रोमा हालिदियो ।

‘घर फर्किएको एक महिना पनि नपुग्दै कम्पनीले नै फोन गर्‍यो, यतिका वर्ष काम गर्नुभयो अब तपाईँलाई मुदिर बनाइदिन्छौ, आउनुहोस् भन्यो’ रुकु भन्नुहुन्छ ‘कम्पनीले फोन गरेर यतिसम्म भनेको थियो कि फाइदा भएको रकम तपाईँकै हुन्छ अब पहिलेजस्तो कामदार होइन, तपाईँलाई अब हामी मुदिर बनाउँछौँ भन्यो ।’

रुकु र महेन्द्रलाई पनि त्यो बेला कम्पनीले भनेको कुरा हो झैँ लाग्यो । पाँच वर्ष काम गर्दा केही प्रगति भएन । तर अब मुदिर(मालिक) नै बनाउने र नाफा रकम पनि दिने भनेपछि त राम्रै होला भन्ने विश्वासमा पर्नुभयो महेन्द्र पनि ।

मुदिर बन्ने सपनाले दिएको दुःख
महेन्द्र भन्नुहुन्छ ‘घर बसेर पनि मेरो गुजारा चल्ने वाला थिएन, अब कम्पनीले नै फोन गरेर मुदिर बनाउँछु भनेपछि त कसरी पो विश्वास नगर्नु र, होला झैँ लाग्यो, म त मख्खै पनि परेको थिएँ ।’ पहिलेभन्दा धेरै पैसा कमाइ हुने भएपछि मनको लड्डु मनैले खादै महेन्द्र फेरि २०७३ सालमै साउदीको बाटो लाग्नुभयो ।

साउदी गएर मुदिर बन्ने, कमाउने र जमाउने सपना बोकेर साउदी पुग्नुभएका महेन्द्रले सोचेभन्दा ठिक उल्टो भयो । मुदिर बनाउँछु भन्ने कम्पनीले जालमा पारेकाे कुरा त्यहाँ गएर घाटा बेर्होन थालेपछि बल्ल थाहा पाउनुभयो ।त्यहाँ पेट्रोल पम्प थियो, कम्पनीले पहिले मैले काम गर्दा नै मेरो तलबमा अलिअलि गरेर दुई लाख १० हजार रुपैयाँ राखेको रहेछ, त्यही रकम तेरो लगानी भयो, त मुदिर भइस् भन्यो, त्यसपछि त घाटा नाफा हिसाब हुन थाल्यो’ महेन्द्र भन्नुहुन्छ ‘नाफा त कहिले पनि भएन, खाली घाटै मात्र भयो, घाटा भएपछि पम्प चलाउन मैले पनि पैसा हाल्न पर्‍यो ।’

कम्पनीमा सेयर दिएकाे कुरा गरेर घाटा हिसाब लगाउन थालेपछि समस्या थपियाे । घाटा मात्र भयो । अलि अलि साथमा भएको रकम पनि सकियो ।

महेन्द्र साउदीमा सोच्दै नसोचेको समस्यामा फस्दै गएपछि यता घरमा पनि समस्या हुन थाल्यो ।

कम्पनीमा घाटा भएपछि रुकुले श्रीमानलाई पैसा पठाउन पर्ने बाध्यता आइलाग्यो । पठाऊँ आफूसँग सुको छैन । नपठाऊ परदेशी भूमिमा श्रीमानलाई केही हुने हो कि भन्ने चिन्ता । साहुसँग ऋण लिएरै भए पनि पटक पटक गरी रुकुले श्रीमानलाई ४ लाख १० हजार रुपैयाँ हुण्डीमार्फत साउदी पठाइदिनुभयो ।

साउदीमा श्रीमानको समस्या त टार्नुभयो रुकुले । तर यता घरमा ऋण माथि ऋण थपिदा घर व्यवहार चलाउनै समस्या हुँदै गयो ।

पैसाको अभाव हुन थालेपछि साहुले च्याप्दै लगे । पढिरहेका छोराछोरीको स्कुलको शुल्क तिर्न नसक्दा विद्यालयले दबाब दिन थाल्यो ।

‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी भने जस्तै भयो नि, कमाउँदा मात्र रहेछन् सबै आफ्ना हुने, पैसा नभएपछि कसैले पनि सहयोग नगर्ने रहेछन्, दुःखको बेलामा त आफ्ना पनि टाढा हुँदा रहेछन् ’ त्यो क्षण सम्झँदै रुकु भक्कानिनुहुन्छ ।

जीवनमा परिआएका हरेक परिस्थितिको सामना गर्नुको विकल्प के हुन्छ र । रुकुले पनि जसोतसो घर धान्नुभयो त्यो दुःखको घडीमा ।

यही पीडामा डुबेकै बेला रुकुको गाउँ चन्द्रपुर नगरपालिका ८ मोतीपुरमा परदेशीका परिवारका निम्ति एक वर्षअघि २०७७ माघमा वित्तीय साक्षरता कक्षा सञ्चालन भयो ।

यो कक्षा नेपाल सरकार र स्विस सरकार बीच भएको दुई पक्षीय सम्झौताअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहलमा, रौतहट जिल्लाको चार वटा पालिकाको नेतृत्व तथा सेवा प्रदायक संस्था माण्डवीको सहजीकरणमा सुरक्षित आप्रवासन सामी परियोजनामार्फत सञ्चालन भइरहेको छ । सामी परियोजनालाई हेल्भटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।

Related Articles

Back to top button