समाचार

ठमेलको होटल प्लेजर होममा लगेर उत्पाद गर्ने तीन युवक पक्राउ

काठमाडौं, पुस ४ – दुबईबाट आएका व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौंको तार्केश्वर नगरपालिका-८ जरङ्खु बस्ने ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगरमा होटल सञ्चालन गर्ने ३१ वर्षीय गोकुल घिमिरेलाई पक्राउ गरेको हो।

राई र अर्याललाई प्रहरीले जरङ्खुबाट पुस ३० गते शुक्रबार र घिमिरेलाई पुस २ गते बसन्तनगरबाट पक्राउ गरेको परिसरले जनाएको छ। वैदेशिक रोजगारका लागि दुबई गएका रामेश्वर राम गत असोज ८ गते बिहान ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा उत्रिई बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेको प्रहरीको भनाइ छ ।

उनी बसेको होटलमा अपरिचित व्यक्तिहरु आई उनलाई अपहरण गरी काठमाडौं महानगरपालिका-२७, ठमेल ज्याठास्थित होटल प्लेजर होमको कोठामा लगेर बन्धक बनाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिइ चुरोटको ठुटोले पोलेर यातना दिएको तथा उनको झोला, मोबाइल समेतका सामान लगेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिएका छन् ।

रामेश्वर राम उक्त होटलबाट भाग्न सफल भई प्रहरीको सम्पर्कमा आएर जाहेरी दरखास्त पेस गरेपछि विविध विधिमार्फत अनुसन्धान गर्दै जाँदा अपहरण तथा बन्धक बनाउने कार्यमा संजोग राई, रमेश अर्याल र गोकुल घिमिरेको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

संजोग राई र रमेश अर्याललाई पुस ३० गते काठमाडौंको जरङ्खुबाट र गोकुल घिमिरेलाई माघ २ गते काठमाडौं महानगरपालिका-१६, बसन्तनगरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी ७ दिनको म्याद लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता मैनालीले जनाएका छन् ।

Related Articles

Back to top button