समाचार

दुई वर्षको छोरा, श्रीमती, आमाबुबा र दिदीभाइलाई छो;डे;र सधैँका लागि अ;स्ता;ए नवराज

नुवाकोट बेलकोटगढी नगरपालिका-१२ का ३५ वर्षीय नवराज पौडेललाई गत २८ मंसिरमा ज्वरो र खोकीले च्याप्यो । सुरुमा उनले मेडिकलबाट औषधि ल्याएर खाए । औषधिले ज्वरो र खोकी कम भएको उनलाई ऐहसास भयो । तर, केही दिनपछि उनको शरीर थप शिथिल बन्यो । कामको सिलसिलामा चितवन पुगेका उनी उपचारका लागि काठमाडौंं फर्किए ।

‘शरीर कमजोर भयो, डाइट पुगेन जस्तो छ भनेर २ पुसमा काठमाडौं फर्किएको थियो,’ उनकी दिदी सीता पौडेलले भनिन्, ‘३ गते टिचिङमा देखाउँदा निमोनिया भइसकेको रहेछ ।’ सोही दिन उनले कोरोना परीक्षण पनि गराए । रिपोर्ट आयो, पोजिटिभ । कोभिडका कारण निमोनियाले द्रवित भएका उनलाई चिकित्सकले अस्पताल भर्ना हुन सुझाएका थिए । तर, उनले होम आइसोलेसन रोजे ।

‘एक सय किलोको ज्यान थियो । अहिलेसम्म कुनै रोग थिएन । जित्न सक्छु भनेर गोलढुंगामा कोठामै बसेको थियो । दुई दिनपछि सास फेर्न गाह्रो भयो । अक्सिजन नै चलाउनु पर्‍यो,’ उनले भनिन् । कोठामा चलाएको अक्सिजनले पनि उनलाई धानेन । र, ६ गते बिहान परिवारले फेरि टिचिङ पुर्‍यायो, नवराजलाई । अस्पताल पुर्‍याउदा उनको स्थिति क्रिटिकल बनिसकेको थियो । ‘निकै गाह्रो भइसकेको रहेछ । डाक्टरले तत्कालै आईसीयूमा राख्नुभयो,’ सीताले भनिन् ।

आईसीयूमा ६ दिन राख्दा पनि उनको स्वास्थ्यमा सुधार आएन । उनलाई आईसीयूबाट भेन्टिलेटरमा सारियो । भेन्टिलेटरमा लगेपछि परिवार अत्तालिन थाल्यो । चिनेजानेका सबै चिकित्सकसँग हारगुहार गर्न थाले । टिचिङकै डा. सुमन आचार्य नवराजको आफन्तको साथी थिए । उनले डा. आचार्यलाई फोन गरेर एक पटक बिरामीको अवस्था हेरिदिन याचना गरे ।

चिनेजानेको नाताले डा. सुमन एक घण्टापछि बिरामी हेर्न आईसीयू पुगे । नवराजको फोक्सो, मुटु र मिर्गौलाले काम गर्न छोडिसकेको थियो । कुनै चमत्कारिक सुधार भएमा मात्र उनी भेन्टिलेटरबाट फर्किने अवस्था देखे डा. सुमनले ।

फर्किनेबेला डा. सुमनले परिवारलाई सोधे, ‘उहाँले खोप लगाउनु भएको थिएन ?’ परिवारले मुन्टो मात्र हल्लाएर खोप नलगाएको जवाफ दियो । खोप नलगाएकोमा नवराजको परिवारलाई पश्चाताव भयो । यो कुरा डा. सुमनले ट्वीट गरे ।

बुधबार डा. सुमनसँग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भेट हुँदा भेन्टिलेटरमा पुगेका बिरामीको अवस्थाबारे सोधखोज गर्‍यौं । ‘उहाँको त गएराति नै निधन भयो नि,’ उनले दुःखद खबर सुनाए । डा. सुमनको निचोड छ, ‘यदि नवराजले खोप लगाएको भए संक्रमित भए पनि दुर्घटनामा पर्ने थिएनन् ।’

दुई वर्षको छोरा, श्रीमती, आमाबुबा र दिदीभाइबाट सधैँका लागि अस्ताए नवराज । अन्तिम समयमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । त्यसैले मंगलबार बिहान पशुपति आर्यघाटमा परिवारले उनको दाहसंस्कार गरेर सदाका लागि बिदा गरे । उनकी दिदी भन्छिन्, ‘खोप लगाएको भए भाइलाई कम हुन्थ्यो भनेर डाक्टरहरूले पनि भन्नुभयो । आज भाइलाई गुमाउनु पर्‍यो । हाम्रो परिवारमा जे भयो अरुको परिवारमा नहोस् । खोप लगाउन सबैलाई अनुरोध गर्छु ।’

Related Articles

Back to top button