समाचार

स्याङ्जाको तामेकोट दरबारको अनुसन्धान थालियो

२५ पुस, काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिकाको ऐतिहासिक तामेकोट दरबारमाथि अनुसन्धान शुरु भएको छ ।

पाँच सय वर्षअघि गुरुङहरूको भुरे-टाकुरे राज्य रहेको तामेकोट दरबार क्षेत्र अहिले अवशेषको रुपमा मात्र रहेको छ । स्यालबास डाँडामा दरबारको पर्खाल तथा पूजास्थल भग्नावशेषको रुपमा रहेको छ ।हात्तीस्थान फाउन्डेसन नामक संस्थाले गत साता दरबार पुनर्निर्माणको उद्देश्यसहित तीनदिने ‘तामेकोट-हात्तीस्थान समिट’ आयोजना गरिसकेको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दरबार पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । मुख्यमन्त्रीले अवशेषको रुपमा रहेको दरबारलाई ब्युँझाएर सांस्कृतिक सम्पत्तिको संरक्षण गर्ने कुरामा प्रदेश सरकार सचेत रहेको बताएका थिए ।

डा. शिवशंकर बस्यालको नेतृत्वमा उक्त दरबारको पुनर्निर्माण भइरहेको छ । बस्यालले तामेकोट दरबारको कथामाथि आधारित ‘रानीफाल’ उपन्यास समेत लेखेका छन् । यता निर्देशक यादव भट्टराईले तामेकोट दरबारको इतिहासमाथि आधारित फिल्म बनाउने घोषणा गरिसकेका छन् ।

जनश्रुतिअनुसार तामेकोट राज्य (मध्यकाल)मा एकजना विलासी राजा थिए । उनका कारण त्यहाँका प्रजाले निकै दुःख भोग्नुपरेको थियो । यही कारण रानीले राजालाई नजरबन्द गरी शासनलाई आफ्नो बागडोरमा लिन्छिन् । त्यसबेला राज्यभित्रको आन्तरिक षड्यन्त्र र बाह्य राज्यको आक्रमणविरुद्ध रानीले बहादुरीपूर्वक लडेर जीवन आहुति दिएकी हुन्छिन् ।

तामेकोट डाँडामा रहेको दरबार जाने ठाउँको ऐतिहासिक पर्खाल
‘केही वर्ष पहिला तामेकोट क्षेत्रमा फलाम र तामाका हतियार, धातुहरू भेटिएको थियो,’ बस्यालले भने, ‘खोजका क्रममा तामेकोट दरबार रहेको प्रमाणहरू प्रशस्त भेटिएका छन् । यसैलाई आधार मानेर थप अनुसन्धान गरिरहेका छौं ।’

दुई वर्षभित्र सम्पूर्ण अनुसन्धानको काम सकेर दरबार पुनर्निमाण शुरु हुने उनी बताउँछन् ।

Related Articles

Back to top button