समाचार

के हो राष्ट्रिय परिचयपत्र? एक करोड २० लाख नेपालीले पाउँदैछन् राष्ट्रिय परिचयपत्र, यस्तो छ तयारी

राष्ट्रिय परिचयपत्र भनेको के हो ?
राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको राष्ट्रिय पहिचान सहितको कानूनी दस्तावेज हो । यसमा नागरिकका वैयक्तिक तथा जैविक विवरण संग्रह गरिन्छ । नेपाली नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने प्रयोजनको लागि २०६७ साल श्रावण १ गते राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको छ ।

सरकारको महत्वकांक्षी परियोजनाका रुपमा सञ्चालित राष्ट्रिय परिचयपत्र पहिलो चरणमा एक करोड २० लाख नेपालीलाई वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार यो संख्यामा कार्डको ठेक्का सम्झौता भई हाल प्रतीतपत्र (लेटर अफ क्रेडिट) को प्रक्रिया चलेको छ ।

चाँडै नै कार्ड परीक्षण सकी हात-हातमा राष्ट्रिय परिचयपत्र वितरण गरिने विभागका निर्देशक सुवास ढकालले बताए । उनका अनुसार अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी नागरिकको विवरण राष्ट्रिय परिचयपत्रको केन्द्रीय प्रणालीमा दर्ता भइसकेको छ भने देशव्यापी रूपमा विवरण संकलनको काम भइरहेको छ ।

उनले विभागमा रहेको मसिनले हाल एक घण्टामा एक हजारभन्दा बढी कार्ड पर्सनलाइज्ड गर्नसक्ने जानकारी दिए । साथै आवश्यकता अनुसार मसिन थप्न सकिनेसमेत उनले जनाए । महिनामा पाँच लाखसम्म कार्ड वितरण गर्न सकिने निर्देशक ढकालको भनाइ छ ।

राष्ट्रिय परिचयपत्रमा क्रमशः विभिन्न सरकारी सेवा प्रणाली एकीकृत गर्ने योजना रहेको सुनाउँदै उनले नागरिकले यसबाटै सेवा उपभोग गर्नसक्ने स्थिति सिर्जना हुने उल्लेख गरे ।

Related Articles

Back to top button