समाचार

बुवाको अन्त्येष्टिका लागि गएका छोरासहित सात जनाको एकै स्थानमा मृxत्यु

आइतबार वुटवलबाट मलामी बोकेर गएको बस पाल्पामा दुर्घटना भयो। यो समाचार एकाएक आगोसरि फैलियो।शवको अन्तिम संस्कार लागि गुल्मीको रिडी हिँडेको मलामी बोकेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका २ लगुवामा दुर्घटनामा परेको थियो।

मलामी बोकेको बस दुर्घटनामा परेसँगै बुटवल उपमहानगरपालिका १७ रानीगञ्जवासीमा वेचैनी भयो।रानीगञ्जकै स्थानीय वीर बहादुर विकको शव लिएर ३५ जना मलामी गुल्मीतर्फ गएका थिए। अधिकांश मलामी रानीगञ्ज र बुद्धनगरका थिए।

रानीगञ्जबाट शव लिएर गएको बस दुर्घटनामा परेको समाचार थाहा पाएर त्यहाँ पुग्दा स्थानीयमा सन्नाटा थियो।रानीगञ्जस्थित समावेशी टोलमा निलो रङ लगाएको एक तले घर बाहिर मानिसको भिड लागेको थियो। घर बाहिर सेतो त्रिपाल टाँगिएको थियो। घरदेखि केही अगाडि कपडा धोएर सुकाइएको थियो। खाटमा परालको थुप्रो राखिएको थियो।

त्यति देखेपछि दाहसंस्कारको लागि शव लिएर गएको मृतकको घर यहीँ हो भनेर सजिलै चिन्न सकिन्थ्यो।गत वैशाखदेखि विरामी परेका रानीगञ्जस्थित समावेसी टोलका ६८ वर्षिय विकको शनिबार साँझ मृत्यु भयो।

उच्च रक्तचापका कारण पक्षघातबाट थलिएका विकको मृत्युपछि दाहसंस्कारको लागि उनको शव गुल्मीको रिडी लैजाने परिवारले सल्लाह गरे।अर्घाखाँचीको मालारानी गाउँपालिका-२ मरेङबाट केही वर्ष पहिले बुटवल झरेका वीर बहादुर पनि मृत्युपछि आफ्नो दाहसंस्कार रिडीमै होस् भन्ने चाहन्थे।

वीर बहादुर मात्र होईन, गुल्मी अर्घाखाँचीबाट बसाईसरि बुटवल आसपासमा झरेका अधिकांश बुढापाकाको मृत्युपछि अन्तिम संस्कारका लागि रिडी लैजाने चलन छ।उनलाई रिडी लैजान परिवार र छरछिमेकी तयार भए।मृतक वीरबहादुरका ६ भाइ छोरामध्ये एक जना विदेश थिए। घरमा भएका ५ छोरासहित ३५ जना मलामी बोकेर उक्त बस बिहान सात बजे बुटवलबाट रिडीका लागि गुडेको थियो।

तर रिडी नपुग्दै पाल्पाको रिब्दिकोट २ लघुवामा उक्त बस दुर्घटनामा पर्‍यो। मलामीका लागि केही आफन्त निजी सवारीसाधनमा गएकोले दुर्घटनामा जोगिए।बिहान करिब साढे १० बजे भएको उक्त दुर्घटनामा परि मृतक वीर बहादुरका छोरा ३० वर्षीय पशुपति विकसहित ७ जनाको घटनास्थलमै मृत्यु भयो।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक मधु नेपालका अनुसार मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका २ का २५ वर्षीय शंकर वि.क., सोही स्थानकै ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र वि.क., ३३ वर्षीय अर्जुन वि.क. बुटवल उपमहानगरपालिका- १७ का ४० वर्षीय खुमबहादुर राना र बुटवल उपमहानगरपालिका-११ का ३२ वर्षीय विजय थापा क्षेत्री छन्।

दुर्घटनामा परेर ज्यान जोगाउन सफल रानीगञ्जका ३१ वर्षीय थम्मन पचभैयाले चिप्लो र उकालो सडकमा चालकले गियर परिवर्तन गर्न नसक्दा दुर्घटना भएको बताउँछन्।

वीर बहादुरका छिमेकी पचभैया आफू पनि सोही बसमा रहेको र बस दुर्घटनामा परेपछि आफू बसेको अगाडिको सिट समातेर बसेका कारण केही नभएको बताउँछन्।दुर्घटनाका घाईतेको भनाई उद्दृत गर्दै बुटवल ११ का वडा सदस्यसमेत रहेका नहकुल शाही ठकुरीका अनुसार दुर्घटना हुँदा केही मलामी निदाएको र कोल्टे पर्दै तल झरेको बसको झ्यालबाट बाहिर खसेकाको मृत्यु भएको हो।

सडकबाट २ सय मिटर तल पुगेको बस घसारिएर तल झर्दा सोहि बसले च्यापिएर उनिहरूको मृत्यु भएको ठकुरीले बताए। बस भित्र सिटलाई दरो गरि समातेका सकुशल छन्।बसले च्यापिएका ३ जनाको शवलाई डोजर र स्काभेटरमार्फत निकालिएको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा परेपछि बसबाट हाम फालेर ज्यान जोगाएका चालक प्रहरी सम्पर्कमा छन्। प्रहरीले दुर्घटना हुनुको कारणबारे अनुसन्धान सुरू गरिसकेको जनाएको छ।घटनास्थल साँघुरो र घुम्तिसँगै शीतलहरले ओसिलो बनेका कारण बस चिप्लिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

बुवाको अन्त्येष्टिका लागि गएका छोरासहित सात जनाको एकै स्थानमा मृत्यु भएपछि अहिले बुटवलको रानीगञ्ज र अर्घाखाँचीको मरेङ शोकमा डुबेको छ।

मृतक र घाइते सबैजसो परिवार भित्रैका र नजिकका आफन्त छन्।घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभास र युनाईटेड मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ।

मृतक तथा घाईतेको अवस्था बुझ्न अस्पताल पुगेका वडा सदस्य ठकुरीले अस्पतालबाट सात जनाको शव निकालेको दृश्यले मर्माहत बनाएको बताए।

‘बिहान घरबाट सकुशल निस्किएका व्यक्तिलाई अस्पतालबाट लाश बनेर निकाल्दा ज्यादै मुटु पोल्दोरहेछ, कतिपय घाइतेको अवस्था पनि दर्दनाक छ,’ उनले सेतोपाटीसँग भने।

ठकुरीका अनुसार दुर्घटनामा परि मृत्यु भएका मोहन कुँवरको शवलाई दाहसंस्कारको लागि रिडी नै लगिएको छ।उनका आफन्त सबै मरेङमै रहेको र रिडी पायक पर्ने भएपछि उतै लगिएको उनले बताए।वडासदस्य ठकुरीका अनुसार दुर्घटनाका ६ जना मृतक र वीर बहादुरको शवलाई दाहसंस्कारको लागि कहाँ लैजाने भन्ने टुंगो लागेको छैन।

हिन्दु धार्मिक प्रचलन अनुसार दाहसंस्कारको लागि घरबाट निकालिएको शवलाई फर्काएर ल्याउन नमिल्ने भएकोले कता लैजाने भन्ने टुंगो नलागेको उनले जानकारी दिए। ‘मृतकको आफन्त तथा परिवार रिडी लैजान हिँडेकै बखत दुर्घटनामा सात जनालाई गुमाएपछि फेरि रिडीमै लैजाने पक्षमा हुनुहुन्न, तर बुवाको शवलाई फर्काएर ल्याउन मिल्दैन भनेर सल्लाह गर्दै हुनुहुन्थ्यो,’ उनले भने।

Related Articles

Back to top button