समाचार

कृषिमन्त्री महेन्द्र राय यादवलाई ऋषि धमलाको प्रश्नः “तपाईं त गफाडी मन्त्री देखिनुभयो नि !”

काठमाडौं, १४ पुस । कृषि मन्त्री महेन्द्र राय यादवले मलको हाहाकार नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय समस्या भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “हामीले खरिद ऐन अनुसार टेन्डर गर्यौं । १२ महिना पहिले मलखादको मूल्य प्रति मेट्रिक टन ३२५ डलर थियो, ६ महिना अगाडि ४५५ डलरमा ठेक्काका लागेको थियो । अहिले प्रति मेट्रिक टन एक हजार डलर पुगेकाले ठेकेदारले मल ल्याएन । त्यसकारण नेपाली किसानले गहुँ, आलुखेतीका निम्ति समयमै मल पाउन सकेनन् ।”
मन्त्री यादवले ठूलठूला देशले मल निर्यात बन्द गरेकाले समस्या भएको पनि बताए । उनले थपे, “अब फेरि ठेक्का लगाउँदा लामो समय लाग्ने भएकाले हामीले जीटुजी (सरकार टु सरकार) मोडलमा जाने विचार गरेका छौं । यसका लागि भारत, बंगलादेश, इजिप्ट आदि सरकारसँग कुराकानी गरिरहेका छौं ।”
तपाईं त गफाडी मन्त्री देखिनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “तपाईंलाई थाहै छ, हाम्रो देशमा मल कारखाना छैन । सरकार किसानमैत्री छ । कृषि उत्पादन, भण्डारण र बजारीकरणको व्यवस्था मिलाएका छौं । बीउको अभाव हुन दिएका छैनौं ।”
उनले थपे, “अब युरिया र डीएटी मलभन्दा प्रांगारिक र अर्गानिक मलको विकास किसानले आफैं गर्नुपर्यो । यसमा प्रदेश सरकारले पनि अनुदान दिन्छ । अब खेती प्रणालीमा रुपान्तरण गर्नु जरुरी छ । युरियाले उर्वरा शक्ति कम गर्छ । समृद्धिको यात्रा अब गाउँबाटै सुरु गर्नुपर्छ ।”
उखु किसानको समस्या धेरै हदसम्म समाधान भैसकेको उनको दाबी छ । उनले भने, “किसान, उद्योगपति र सरकारबीचको सहमतिमा यसको समाधान भैसकेको छ । बैंकमा रकम जम्मा गरिएको छ । रौतहटका किसानलाई पनि सूचना गरिएको छ ।”
शीतलहरपीडित सर्लाहीका जनताका लागि खेतान ग्रुपको सामाजिक संस्थाले १५ सय कम्बल पठाइएको पनि उनले बताए । उनले स्थानीय सरकारले दाउराको व्यवस्था गरेको पनि दाबी गरे ।
जनता समाजवादी पार्टी माओवादीमा विलय हुने हल्ला मात्र भएको उनले बताए । उनले थपे, “जसपा वैकल्पिक पार्टी हो । पार्टी एकता वा विलयका लागि प्रचण्ड र उपेन्द्र यादवबीच कुनै कुराकानी भएको छैन । हामी सहकार्य र सहमतिका आधारमा गठबन्धनमा छौं । अहिले कुनै पार्टीसँग एकता हुने सम्भावना छैन ।”
लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि एकता हुने सम्भावना नरहेको उनले औंल्याए । उनले भने, “लोसपा प्रतिगामी कित्तामा गयो । मधेस आन्दोलन ध्वस्त गर्ने व्यक्तिहरुसँग एकताको सम्भावना छैन ।”
मन्त्री यादवले एमसीसी राष्ट्रिय सहमतिमै पास हुने पनि बताए ।

Related Articles

Back to top button