समाचार

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै कमाए पुण्य गौतमले यति धेरै हेर्नुहोस्

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य गौतम

अषोज १२, २०७८ मंगलबार 21
50
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् ।

टीकटक लाइभमा बसेकै भरमा मनग्गे आम्दानी गर्न सकिने चाल पाएपछि गौतम अरु सबै कामधन्दा (प्राय फोगटका) छाडेर यसमा होमिएका हु्न् । उनलाई छोटो समयमै फलिफाप भएको छ । तीन दिन लाइभ बस्दा करिब २ लाख रूपैयाँ आम्दानी भएको उनले बताए ।

कञ्चनपुरका अंशु बर्मा नाम गरेका युवकले १५ महिनामै टीकटकबाट करोड कमाएको भनेर सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको थियो । उनलाई फ्लप पार्ने गरी पुण्य गौतम उदाएका छन् ।

गौतम पहिलोपटक गत शुक्रबार बेलुकी श्रीमतीसँगै लाइभमा बसेका थिए । ९ बजेबाट लाइभ बसेका उनी बिहान साढे ५ बजेमात्र उठे । आफ्नो लाइभमा एकैपटकमा १२ हजारसम्म प्रयोगकर्ताहरू जोडिएको गौतमले बताए ।

‘त्यसपछि त मलाई रस पसिहाल्यो,’ उनले भने, ‘अब समय मिलेसम्म बसिन्छ ।’

श्रीमतीको प्रेरणाले आफू टीकटक लाइभमा बस्न थालेको गौतमले बताए । उनले भने, ‘यसभित्रका प्राविधिक पक्षहरुबारे मलाई धेरै जानकारी थिएन । श्रीमतीले नै सबै सिकाएकी हुन् ।’

डलर कमाउनकै लागि निद्रा मारीमारी टीकटकमा लाइभमा बस्न थालेको भनेर उनको ट्रोल पनि भइरहेको छ । गौतम भने डलर कमाउने भन्दा पनि संसारभरका मानिसहरूसँग जोडिने उद्देश्य लिएको बताउँछन् ।

‘यो टीकटकको दुनियाँ गजबको रहेछ,’ उनले भने, ‘यसमा अल ओभर द वर्ल्ड जोसँग पनि जोडिन सकिन्छ । यही कुराले मलाई लोभ्याएको हो ।’

गौतमसँग गरिएको थप संवादः
युट्यूवमा छाइरहनुभएकै थियो, एक्कासी कसरी टीकटक लाइभको भुत चढ्यो तपाईंलाई ? इमान्दारितापूर्वक भन्नुपर्दा म योजनाबद्ध तरिकाले आएको होइन । अस्ति शुक्रबार के भयो भने श्रीमतीजीले ‘एकछिन फ्रेस हुनुपर्‍यो लाइभमा बसौं’ भन्नुभयो । ल न त भनेर बसेँ । म देखिनासाथ एकैचोटि ४-५ हजार जोडिन आउनुभयो ।

लाइभमा आउनेहरूले धमाधम उपहारहरू फ्याँक्नुहुने रहेछ । मलाई त यस्तो हुन्छ भन्ने पनि थाहा थिएन । गजबै लाग्यो । अनि त म ९ बजेदेखि लाइभ बसेको मान्छे बिहान साढे पाँच बजे मात्रै उठेँ । त्यतिञ्जेलमा मरोमा ३ लाखजति लाइक आएछ।

एकचोटिमा १२ हजारसम्म जोडिन आउनुभयो । तपाईंले हेर्नुभएको होला त्यो बेला निद्राले आँखा पनि राताराता भएका थिए। त्यसदेखि यता लगातार बसिरहेको छु । गजब मजा आइरहेको छ ।

तपाईंप्रति टीकटकमा मान्छेहरूको यतिविधि आकर्षण चाहिँ किन होला त ?
हेर्नुस्, अरुले हेर्दा जाबो लाइभ बस्ने त हो नि भनेजस्तो देखिन्छ । तर, यो सजिलो काम होइन । यसमा धेरै दु:खकष्टहरू छन् । धैर्यता चाहिन्छ । लगातार बोलिरहने सामर्थ्य चाहिन्छ । र, सबैभन्दा मुख्य कुरा त सेन्स अफ ह्यूमर चाहिन्छ ।

मेरो सेन्स अफ ह्यूमर तपाईंलाई थाहा नै छ । मान्छेहरूले भन्ने गर्छन् कि भरतमणि पौडेल कमेडी च्याम्पियन भए पनि पुण्य गौतमले जति हँसाउन सक्दैन । म आफ्नो सेन्स अफ ह्यूमरले सबैलाई लाइभमा अड्याएर राख्न सक्छु । सबैमा यस्तो क्षमता कहाँ हुन्छ भन्नुस् त ?

एकजना विदेशमा बस्ने इशा गुरुङ भन्ने बैनी हुनुहुन्छ । सामाजिक सञ्जालमा धेरै फलोअर्स छन् उहाँका । उहाँले पनि लाइभमा बस्छु भनेर तात्नुभएछ । तर, धेरैले सुझाव दिएछन् कि तपाईंले सक्नुहुन्न किनकी तपाईंसँग पुण्य गौतमजस्तो बोल्ने र हँसाउने क्षमता छैन । त्यसपछि हच्किनुभयो ।

लाइभ बसेर दिनमै लाखौं कमाइरहनु भएको चर्चा छ, वास्तविकता के हो ?
इमान्दारितापूर्वक भन्नुपर्छ पैसा त कमाइँदो रहेछ । तीन दिनमा म दुई दिनमात्रै लाइभ बसेँ । बीचमा एक दिन ब्रेक लिएँ । दुई दिन ४८ घण्टामा शौचालय जाने, खाने र सुत्नेबाहेक सबै समय लाइभमा बिताएको छु । यसरी लाइभ बस्दा झण्डै १८/१९ सय डलर जति आम्दानी भएको छ । यद्यपि, पैसा साट्न चाहिँ भ्याएको छैन ।

– तपाईं डलर कमाउने लोभले मात्रै टीकटक लाइभमा भिडिरहनुभएको हो कि अरु पनि कारण छन् ?
इमान्दारितापूर्वक भन्नुपर्दा मैले चाहिँ सामाजिक सेवामा खर्च अलिकति गरौं भनेर हो । मुख्य उद्देश्य यो हो । अर्को कुरा, टीकटकमा अशिक्षित अल्पशिक्षित र आलाकाँचा मान्छेहरु हावी भए । यहाँ शिक्षित बौद्धिक राजनीतिक बुझेको मान्छे पनि चाहिन्छ भनेर हो ।

मलाई अहिले अंशुबर्मा भन्ने भाइसँग पनि तुलना गरिरहेका छन् । तर, उनको र मेरो कुनै तुलना हुँदैन । उनी मेरो लागि त छोराजस्तो हो । मैले र उनले बोल्ने प्रस्तुति स्तर नै अर्को हुन्छ । जे भए पनि म त पीएचडी स्कलर हो नि । म राजनीतिबाट उदाएको मान्छे । ती केटाकेटीसँग प्रतिस्पर्धा गर्नु नै छैन । तर, मान्छे के भन्न लागेका छन् भने अंशु बर्माको मार्केटको सटर पुण्य गौतमले बन्द गराइदिन लाग्यो पनि भन्छन् ।

तपाईंहरूले लाइभ बसेर कमाउने पैसा त आखिर नेपालीहरुकै हो नि होइन ?
मेरो लाइभमा विदेशीहरू पनि आउनुहुन्छ । उहाँहरूले पनि मलाई उपहार पठाउनुभएको छ । आज लाइभ बस्दा एकजना यूरोपको व्यक्ति आउनुभएको थियो । अल ओभर द वर्ल्डबाट आउनुहोस् भन्ने चाहन्छु ।

तर अरु देशका मान्छेहरूसँग अन्तरक्रिया गर्न त भाषाको समस्या आउँदैन ?
अंग्रेजी नजान्ने हो भने त समस्या आउन सक्छ । तर, म त पीएचडी स्कलर मान्छे हो । मेरो श्रीमतीले पनि पोलिटिकल साइन्समा मास्टर गरिसकेकी छन् । हामीलाई भाषाको समस्या छैन । म अंग्रेजी माध्यमबाट आउने अल ओभर द वर्ल्डका मान्छेहरूलाई स्वागत गर्छु ।

यसरी दिनरात लाइभमा बस्दा तपाईंले बोल्ने विषय चाहिँ के हुन्छ ?
म अलिकति मोटिभेसनल कुराहरू भनिरहेको हुन्छु । तर, टीकटक लाइभमा जोडिन आउनेहरुको मुख्य उद्देश्य हुन्छ आफ्नो फलोअर्स बढाउने । कसैका १०० जना पनि फलोअर्स हुँदैनन् भने मेरो लाइभमा बसेपछि १०००-२००० जना पुग्छन् । यसैका लागि उहाँहरूले उपहारहरू पठाउनुहुन्छ । कसैले चश्मा, कसैले घडी कसैले के । जसले उपहार दिन्छ, उसको नाम माथि चढ्छ अनि उसलाई मैले फलो गर्छु । त्यो देखेपछि अरुले पनि फलो गर्छन् । त्यसैले यसमा दोहोरो स्वार्थ छ । उहाँहरूले फलोअर्स कमाउनुहुन्छ, मैले उपहार ।

भनेपछि अब तपाईं युट्यूवरलाई अन्तर्वार्ता दिन छोडेर रातदिन टीकटकमै रमाउने हुनुभयो ?

म खासमा सोखले टीकटकमा बसेको हो । प्रोफेसनल तरिकाले त जान सक्दिन होला, मेरो त्यस्तो स्वभाव छैन । अहिले चाहिँ इन्जोइ गरिरहेको छु । यो कहिलेसम्म जान्छ यसै भन्न सक्दिनँ ।

मेरो योजना चाहिँ के छ भने बिहान ८ बजेदेखि अराउन्ड १२ बजेसम्म लाइभ बस्छु । दिउँसो अरु काममा हिँड्छु । अनि राति ७-८ बजेदेखि १२-१ बजेसम्म लाइभ बस्छु । अघि बिहान पनि ३ हजारजना लाइभमा हुँदा-हुँदै छोडेर बाहिर निस्केको हुँ । मलाई त बसेपछि हत्पत्ति छोड्नै दिँदैनन् । तर, अरु काम पनि त गर्नुपर्‍यो नि ।

अब टीकटकबाट कमाएको पैसाले के गर्ने त ?
मेरो मुख्य उद्देश्य त समाजसेवा नै हो । अरु तपसिलका कुराहरू त छँदैछन् नि ।

Related Articles

Back to top button