समाचार

विद्यालय खोल्न हतार नगर्न अभिभावकको आग्रह

कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाउनुभएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो ।

विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेलगायतका आधार बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउनअन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय यसअघि भइसकेकामा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको जानकारी दिनुभयो । उहाँले जोखिम भएका स्थानमा अनिवार्यरूपमा विद्यालय खोल्नुपर्ने भन्ने नरहेको स्पष्ट गर्नुभयो ।

हतार नगर्न अभिभावकको आग्रह

राष्ट्रिय अभिभावक महासङ्घले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताउनुभयो । भौतिकरूपमा विद्यालय बन्द हुँदा हाल सञ्चार तथा सूचना प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको छ ।

यो पनि – पाँच महिनापछि मुस्ताङमा निषेधाज्ञा हटाइयो

मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो ।अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सरोकारवालाहरुको सुझावअनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले मुक्तिनाथ मन्दिरबाहेक सबै क्षेत्र खुलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

“मुक्तिनाथ मन्दिरमा प्रवेश खुलाइएको छैन”, उहाँले भन्नुभयो, “मुस्ताङ भित्रिनका लागि विदेशी नागरिकलाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।” जनजीवन सहज र आर्थिक क्षेत्रलाई चलायमान बनाउन स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरेर निषेधाज्ञा खुलाइएको हो । निषेधाज्ञा हटाएपछि पोखरा–जोमसोम हवाई सेवा, लामो तथा छोटो दूरीका यातायात, पर्यटन क्षेत्र, होटल तथा रेष्टुराँ, मेला–महोत्सव, शैक्षिक संस्था र सेवा प्रदायक सङ्घसंस्थाको गतिविधि निर्वाधरूपमा सञ्चालन हुनेछन् । आन्तरिक पर्यटकले अनिवार्य खोप कार्डका साथै ४८ घण्टे एन्टिजेन रिपोर्ट साथमा लिएर आउनु पर्नेछ । जोमसोम विमानस्थल कक्ष, म्याग्दी र मुस्ताङको सीमा नाका घाँसा प्रहरीचौकीमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लाका नागरिकले मुस्ताङ आउजाउ गर्नुपर्दा सम्बन्धित स्थानीय तहको सिफारिस लिनुपर्ने यसअघिको निर्णयलाई परिमार्जन गर्दै नागरिकता अथवा परिचयपत्र देखाए हुने भएको छ । निषेधाज्ञाले मुस्ताङका होटल व्यवसायी सङ्कटमा परेका छन् । निषेधाज्ञा खुकुलो पारिएसँगै अर्थतन्त्र चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । कोरोनाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवा–७ सहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन् । पाँच सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मुस्ताङमा ५०८ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमितमध्ये २७ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको थियो ।

यो पनि – प्रदेश नं १ मा ३९९ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३९९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २१ को पीसीआर परीक्षण गर्दा २६६ र ७१८ को एन्टिजेन परीक्षण गर्दा १३३ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३ मध्ये विराटनगरमा ८९, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा छ, इलाममा तीन तथा पाँचथर, उदयपुर र सङ्खुवासभामा एकएक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३९८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९२ महिला र २०६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो पनि – पछिल्लो २४ घन्टामा थप १,६७७ कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं,२२ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १,६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११,१११पीसीआर र ३९२३ एन्टीजेन परीक्षणमा १,६७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ७२ हजार १८२ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८५ हजार ७१३ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा दुई हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button