समाचार

बागलुङकाे भुजीखोला बाढीको एक वर्ष : अझै अत्तोपत्तो छैन १५ जनाको

केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन्। खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसै गरी सुसाउँथ्यो र अहिले पनि उसै गरिरहेको छ।

बाउ बाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेसी झरेका बेला बोबाङ बासीका आश्रयस्थल थिए। ढोरपाटन र बुकीमा बसेर गाईबाख्रा पाल्ने अधिकांश बोबाङवासीको छ महिनाको बसाई भुजीखोला छेउछाउमा भए पनि उनीहरुको स्थायी बसोबास त्यहीँ हो। विसं २०७७ भदौ १७ गतेअर्थात् आजकै दिन भुजीखोला किनारका स्थानीयका लागि कालो दिन बन्यो। रातको १२ बजेको हुँदो हो भुजी खोलामा अनायसै आएको बाढीले नत पानी भन्न दियो, नत गुहार नै माग्न।

बाढीपहिराले ढोरपाटन नगरपालिका वडा नं ९ देखि ६ सम्मको खोला किनार बडार्यो। कसैलाई लछारेर किनारा लगायो, कसैको प्राण लियो र धेरै जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्कअनुसार भुजीखोलाको बाढीपहिराका कारण ढोरपाटनका मात्रै ३७ जनाले ज्यान गुमाएका थिए।

पन्ध्र जना अझै बेपत्ता छन्। ढोरपाटन–९ को सुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि नरसम्हार मच्याउने गरी बाढी आएको नगर प्रमुख देवकुमार नेपाली बताउछन्। “त्यो दिन वर्षा पनि अधिक भएको थियो, कुनै मानव सिर्जत कारण नभएर सुर्तिवाङको वनमा गएको पहिरो बाढीका कारण हो”, नेपालीले भने, “हाम्रो नगरमा सबैभन्दा बढी क्षति हुने र दुःखद् घटना भयो।”

 

Related Articles

Back to top button