समाचार

माधव कुमार नेपालको समूहबाट उपाध्यक्ष भीम रावलले किन साथ छाडे?

काठमाडौं । एमालेमा असन्तुष्ट हुँदै विपक्षी गठबन्धनलाई साथ दिएका एमाले वरिष्ठ नेता माधव कुमार नेपालको समूहबाट उपाध्यक्ष भीम रावल अलग्गिएका छन् । ओलीले गैर संवैधानिक कदम चालेको भन्दै पार्टीभित्रैबाट विद्रोह गर्न माधव नेपालको साथ दिएका उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिनदेखि साथ छाडेका हुन् ।

पार्टी एकताका लागि गठित कार्यदलमा नेपालतर्फबाट संयोजकसमेत रहेका रावलले अन्तिम समयमा आएर नेपाल पार्टी सिध्याउन लागेको भन्दै अलग्गिएका हुन् । उनले आइतबार विश्वासको मत दिने क्रममा आफू राजनीतिक खिचातानीको फोहोरी खेलबाट अलग बस्न चाहेको भन्दै संघीय सांसद पदबाटै राजीनामा दिए ।

तर, यसमा माधवकुमार नेपालले कुनै प्रतिक्रिया जनाएका छैनन् । बरु अध्यक्ष केपी शर्मा ओलीले भने राजीनामा फिर्ता लिन अनुरोध गरिरहेका छन् । नेता नेपालले कुण्ठा बोकेर पार्टी सिध्याउन लागेको भन्दै भीम रावल अलग्गिएको रावल निकट नेताहरु बताउँछन् ।

यस्तै, आज माधव कुमार नेपालले ढाकेको स्थायी कमिटी बैठकमा पनि भीम रावल उपस्थित भएनन् । उसो त ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि उनी सहभागी भएका छैनन् । तर, बलियो हैसियत राख्ने नेता नै स्थायी कमिटी बैठकमा नआउँदा पनि माधव नेपालले कुनै प्रतिक्रिया नदिनुले अब उनीहरुको सम्बन्ध पहिलेजस्तो छैन भन्ने बुझिन्छ ।

नेता नेपाललाई अनेक आग्रह गर्दा पनि देउवाकै पक्षमा विश्वासको मत दिएपछि रुष्ट भएका रावल त्यसपछि माधव नेपालको सम्पर्कमा छैनन् । आजको बैठकमा रावललाई बोलाइए पनि किन उपस्थित भएनन भन्ने विषयमा आफूलाई जानकारी नभएको नेता रघुजी पन्तले बताए ।

news18nepal.tv

Related Articles

Back to top button