समाचार

केपि ओली पछिको नेकपा एमालेमा को हो त उत्तराधिकारी ?

काठमाडौं । नेकपा एमालेको दुई पक्षीय विवादमा दुवैतिरका केही नेता एक्ला एक्लै दौडिन थालेपछि अर्को असन्तुष्टि प्रकट भएको छ । वरिष्ठ नेता माधव नेपाल खेमाको खम्बा मानिएका उपाध्यक्ष भीम रावलको अप्रत्यासित संस्थापन तर्फको झुकावलाई उतैका एकथरिले मन नपराएपछि विवादमा नयाँ ट्वीष्ट आएको दाबी गरिएको छ ।

ओलीको उत्तराधिकारीको दौडमा रहेका महासचिव ईश्वर पोखरेल नेता रावलको संस्थापनसँगको निकटता प्रति आशंकित रहेको जानकार स्रोत बताउँछ । खास गरी, रावललाई अध्यक्ष केपी ओलीले कार्यवाहक अध्यक्ष दिने बतासे आश्वासन दिएको हल्ला पत्याएर पोखरेल विचलित बनेको र त्यसैका कारण लामो समयदेखिको अन्तरकलह झन् झन् कचल्टिदै गएको उक्त स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री छँदै ओलीले बालुवाटारमा पोखरेलबाहेक भीम रावल, सुवास नेम्वाङ्ग र विष्णु पौडेललाई राखेर राती छलफल गर्नुभएको थियो । उक्त भेटमा भावी नेतृत्व बारे छलफल हुँदा ओलीले ‘तपाईंहरुमध्यको एक जना उत्तराधिकारी हो, तपाईंहरुले नै मिलाउनुस्’ भन्नुभएको थियो ।

उपाध्यक्षसमेत भएकाले आफूपछिको नेतामा रावललाई अघि सार्ने संकेत ओलीबाट आएपछि लामो समयदेखि ओली खेमामै राजनीति गरेर भोटो फटाएका नेताहरु असन्तुष्ट बनेको बताइन्छ । त्यसो त, केही दिनअघि आफ्नो निवासमा महासचिव पोखरेलले व्यक्त गरेको असन्तुष्टिलाई पनि ओली-रावल वार्तासँग जोडेर हेरिएको छ ।

बताइए अनुसार महत्वपूर्ण विषयमा पनि आफूलाई सामान्य सोधनी समेत नगरेकोमा पोखरेलको ओली प्रति चर्को गुनासो छ । यता, अस्ति प्रतिनिधिसभामा ओली स्वयमले बोल्नु पर्ने उहाँनिकट नेताहरुकै सुझाव थियो ।

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक भएकाले निवर्तमान प्रधानमन्त्रीका रुपमा ओलीले नै सम्बोधन गर्ने बाहिर पनि अनुमान थियो । तर, उहाँले सम्बोधन गर्नुभएन । आफ्नो विकल्पमा सिनियर नेताको पंक्ति हुँदाहुँदै प्रदिप ज्ञवालीलाई अघि सार्नुभयो ।

महासचिव पोखरेल, दलका उपनेता सुवास नेम्वाङ्ग, विष्णु पौडेललाई छेकेर ज्ञवालीलाई बोल्न दिएपछि ओली समूहभित्र अन्तरविरोध अझै बढेको बताइन्छ । ओलीले बोलाएको बैठकमा गएर ‘म अब सधैँका लागि आएँ’ भन्दै भाषण गर्नुभएका उपाध्यक्ष वामदेव गौतम पनि पछिल्लो समय ओलीसँग रुष्ट बनेको बुझिएको छ ।

पार्टी विवाद समाधानका लागि आफूलाई जिम्मा दिने भनेर ओलीले धोका दिएको गुनासो उहाँले अर्कोतिर सुनाएको बताइन्छ । यता, भीम रावलले नेपाल समूह छोडेको हल्ला चलाइएको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने आफ्नो अडानमा माधव नेपाल सहमत नभएपछि रावलले सांसद पदबाट राजीनामा दिनुभयो ।

अस्तिको केन्द्रीय कमिटी बैठकमा ओलीले रावललाई राजीनामाको निर्णयबाट फिर्ता हुन आग्रह गर्नुभएको छ । पछिल्ला केही दिनयता सतहमा देखिएका यी घटनाक्रमले पनि एमाले विवाद थप कचल्टिएको सहजै अनुमान गर्न सकिन्छ । जनआस्थामा खबर छ ।

news18nepal.tv

Related Articles

Back to top button