समाचार

एकै दिन कोरोनाले बिहान श्रीमान् टेकबहादुर र साढे ३ बजे दिउँसो श्रीमती लक्षीहाङमाको निधन परिवारका सात जनामा संक्रमण

काठमाडौं । कोरोना संक्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो ।

एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावती समेत भाइरस संक्रमणका कारण होम आइसोलेसनमा छन् ।

छ दिनअघि उनीहरुलाई संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै होम आइसोलेसनमा थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना संक्रमित रहेको बताइएको छ ।

स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ । इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या दुई हजार १४४ पुगेको छ ।

संक्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३७१ संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ संक्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र संक्रमित रहेका छन् ।

हाल गाउँ गाउँमा संक्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि संक्रमण बढ्न थालेको हो । रासस

Related Articles

Back to top button