समाचार

पिठ्युँमा बच्चा बोकेर ड्युटी गर्ने ट्राफिक जोडीको प्रेम कहानी– सडकमा सिट्ठी फुक्दाफुक्दै लभ !

खोटाङ घर भएकी प्रहरी जवान बोना ढकाल जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाम मातहत रहेर काम गर्ने गरी इटहरीबाट इलाम सरुवा भएकी थिइन् ।२०६३ चैत २० मा प्रहरी सेवामा प्रवेश गरेकी ढकालको इलाम बजारमा ड्युटी थियो । बजारमा सवारी व्यवस्थापनका लागि सिट्ठी फुक्दै थिइन् । नयाँ–नयाँ भएकाले उत्साह पनि थियो ।

सोही समयमा महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखाना मातहत काम गर्ने विराटनगर पोखरियाका ट्राफिक प्रहरी हबल्दार अजित राउत पनि सरुवा भएर इलाम गए । अजित इलाम पुग्दैगर्दा बोना सडकमा ड्युटीमै थिइन् । अजितले बोनालाई पहिलोपटक सडकमै देखे । देख्नेबित्तिकै उनलाई बोना मन परेको रहेछ, तर लजालु स्वभावका अजितले बोल्ने हिम्मत भने गरेनन् ।

संयोगवश बोनाका बहिनीहरूसँग अजितको चिनजान रहेछ । उनले बहिनीहरूको माध्यमबाट नजिकिने योजना बनाए । एकदिन अजितले बोनाकी बहिनीलाई घुम्न जाने अफर गरे । उनले सहमति पनि जनाइन्, त्यसपछि शर्त राखे– दिदीलाई पनि लिएर आउनुपर्छ ।

उनको प्लानले काम गर्‍यो, तर दिनभरी घुम्दा बोलचाल भने भएन । ‘बहिनीसँग त चिनजान थियो तर उनीसँग कसरी बोल्ने भन्ने पत्तो थिएन, अलिकति डर लागेको थियो,’ प्रहरी हबल्दार अजितले भने, ‘इलाम घुम्न त गयौं तर दिनभरी बोलचाल नै भएन ।’

त्यतिबेला बोनालाई पनि अजित मन परेको रहेछ, तर बहिनीको प्रेमी होला भन्ने सोचेर कुराकानी गर्ने हिम्मत गरिनछन् । ‘बहिनीले घुम्न जाऊँ भनेर गएँ । बहिनीकै ब्वाइफ्रेन्ड होला जस्तो लागेको थियो त्यसैले बोलिनँ,’ बोनाले भनिन्, ‘तर मनचाँहि परेको थियो ।’

त्यो दिन बोलचाल नभए पनि कार्यालय एउटै थियो । अजितले लुकीलुकी उनलाई हेर्थे, बोना भने अझै पनि बहिनीको प्रेमी होला भन्ने सोचेर खासै नजिकिन चाहँदैन थिइन् । ‘मलाई मन परेको थियो, तर उनले भाउ नै नदिने, बोल्न आँट नै आउँदैनथ्यो,’ अजितले भने, ‘यसो लुकेर मात्रै हेथेँ ।’

अजित यतिसम्म लजाउँथे कि बोनाले खाना खाँदै गरेको बेलामा मेसमा समेत छिर्दैनथे । उनी निस्किएपछि मात्र भित्र छिरेर खाना खान्थे । ‘मन भित्रबाटै माया लागेपछि उनको अगाडि जान अड फिल हुन्थ्यो,’ अजितले भने । एउटै अफिसमा बेलाबेलामा एकै ठाउँमा ड्युटी पर्थ्यो । अजितले सिट्ठी फुक्दै हातले सवारीलाई इशारा गर्थे, तर आँखा भने बोनातिरै हुन्थ्यो ।

अजितले बोनालाई मन पराउन थालेको संकेत उनका साथीभाइले पनि पाएका थिए । उनीहरूले जिस्क्याउन पनि थालेका थिए, तर बोनालाई भने पत्तो थिएन । रोचक कुरा त के भने त्यतिबेलासम्म पनि बोनाले अजितलाई हुनेवाला बहिनी ज्वाइँको रूपमा हेर्थिन् । मान्छे ठीक छ भन्नेचाहिँ उनलाई सधैँ लागिरहन्थ्यो । यत्तिकैमा एकदिन बोनाको मोबाइलमा म्यासेजको घण्टी बज्यो ।

खोलेर हेर्दा म्यासेजमा लेखिएको थियो– ‘आइ लभ यु….’ । सहकर्मी भएकाले अजितको नम्बर बोनालाई थाहा थियो । शुरूमा त उनले के भइरहेको छ नै सोच्न सकिनन् । कुनै प्रतिक्रिया जनाउनुभन्दा अगाडि बोनाले बहिनीलाई त्यसबारे जानकारी गराइन् । बल्ल थाहा भयो, अजित त बहिनीको प्रेमी होइन रहेछन् ।

उनी त्यसपछि फ्ल्यासब्याकमा गइन्, त्यो दिन इलाम घुम्न जाने प्लान अर्कै पो रहेछ । मान्छे ठीक लागेकै थियो, मन परेको पनि हो, त्यसपछि भने बोनाले अजितलाई आफ्नो दिलमा सजाउन थालिन् ।

एउटै भवनको माथिल्लो तल्लामा महिला प्रहरीको ब्यारेक थियो, तल्लो तल्लामा पुरुषहरूको । अजित तल साथीभाइसँग बसिरहँदा बोनाले माथि झ्यालबाट चिहाउन थालिन् । लुकीलुकी हेर्ने पालो अब बोनाको थियो ।

सडकमा ड्युटीका बेला आँखा जुध्दा मुस्कुराउन थालिन् । अजितले पठाएको आइ लभ यु म्यासेजको जवाफ भने उनले किस्ताकिस्तामा दिइन् । ‘उहाँले आइ लभ यु भनेको ५/६ किस्तामा बल्ल ‘एस’ भनें,’ बोनाले भनिन्, ‘दिनप्रतिदिन माया बढ्न थाल्यो । सरहरूले पनि तिमीहरू विवाह गर भन्नुहुन्थ्यो ।’

Related Articles

Back to top button