समाचार

एउटै कक्षाका २२ बालबालिकामा कोरोना संक्रमण

एउटै कक्षाका २२ बालबालिकामा कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोना संक्रमण हुने क्रम निरन्तर घटिरहेका बेला छत्तीसगढ राज्यको कोन्डागाउँ जिल्लामा एकै कक्षाका २२ बालबालिका संक्रमित भेटिएपछि स्थानीय स्तब्ध भएका छन् । जिल्लाको बडेराजपुर विकाखण्डस्थित मोहल्ला कक्षामा २२ बालबालिका कोरोना पोजिटिभ पाइएका हुन् ।

राज्यमा दैनिक ५ सय जना कोरोना संक्रमित थपिने गरेका छन् । घटना बारे जानकारी दिँदै सीएचएमओ डा. टीआर कुँवरले भने कि बडेराजपुर विखण्डबाट सञ्चालित मोहल्ला कक्षामा एक बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । जाँच गर्दा उनमा कोरोना पोजिटिभ पाइयो ।

त्यसपछि कक्षाका अन्य बालबालिकाको पनि पीसीआर जाँच गर्दा एकसाथ २२ बालबालिकाका कोरोना संक्रमण पुष्टि भएको हो । डा. कुँवरका अनुसार यी बालबालिकको उमेर ११ देखि १४ वर्षबीच छ । गाउँलेले ती बालबालिकालाई अन्यत्र लान नदिएपछि छात्रावासमै आइसोलेसन बनाएर राखिएको छ ।

ती बालबालिकाको सम्पर्कका आएका अन्य बालबालिका एवं उनीहरूको परिवारका सदस्यलाई स्थानीय स्तरमै आइसोलेट गरिएको छ । स्वास्थ्य विभागका प्रवक्ता एवं संयुक्त सञ्चालक डा. सुभाष पान्डेका अनुसार लामो समयपछि एकै ठाउँमा यति धेरै संख्यामा संक्रमित फेला परेका हुन् ।

यसले कोरोना महामारी अझै नसकिएको प्रस्ट भएको उनले बताए । यसैले यसलाई हल्का रूपमा नलिई सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।

Related Articles

Back to top button